
बेनी । म्याग्दी स्थित अन्नपूर्ण हिमालको आधार शिविर र आधार शिविरको प्रवेशबिन्दुमा पर्ने नारच्याङ बेशी सोमबार संगितमय भएको छ ।
अन्नपूर्ण हिमाल आरोहण भएको ७५ वर्ष पुरा भएको अवसरमा आयोजित हिरक महोत्सव अन्तर्गत आधार शिविरमा फ्रान्सका कलाकारहरुले सांगितिक कार्यक्रम गरेका हुन भने नारच्याङ बेशीमा मौलिक मादले मारुनी नाच, सोरठी गित र लोक नृत्य प्रस्तुत गरिएको हो ।
अन्नपूर्णका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण संगित समुहले चार हजार एक सय मिटर उचाईमा अवस्थित आधार शिविरमा नेपाली पनको झल्को दिने गरि सांगितिक प्रस्तुति गर्नुभएको हो ।

मौरिसका छोरा माथिएस, बुहारी, नाती सिमोन ज्याक्युस हर्जोग लगायत विदेशी कलाकारहरुले ‘रेशम फिरिरि…’ बोलको गितको संगित र नृत्य प्रस्तुत गर्नुभएको थियो । १४ जना विदेशी सहित करिब दुई सय जनाको टोली नारच्याङ बेशीगाउँदेखि मौरिस हर्जोग पदमार्ग हुदै सोमबार साँझ आधार शिविरमा पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

उनिहरुले शनिबार साँझ नारच्याङ वेशीमा पनि सांस्कृति कार्यक्रम गरेका थिए । पदमार्गको प्रवेशबिन्दु नारच्याङ बेशीमा पाहुनाहरुको स्वागत र मौलिक लोक संस्कृतिको संरक्षणको उद्देश्यले अन्नपूर्ण गाउँपालिकाको आठ वटा मध्य सात वटा वडाका पुर्खौली कलाकारहरुको टोलीले मादले, मारुनी नाच प्रर्दशन र सोरठी गित प्रस्तुत गरेका हुन् ।
पुर्खौली नाचका संयोजक तथा वडा नम्बर–४ का वडा सदस्य श्याम पुर्जाले फरक फरक सातवटा समूहका नाच्ने, गाउने र बजाउने गरेर एकसय पचासभन्दा बढी कलाकारहरुले सहभागिता जनाएका बताउनुभयो । घार गाउँका क्षेत्री समुदायले भजन र नृत्य प्रस्तुत गरेका थिए ।

मगर समुदायको मौलिक कला संस्कृति झल्किने मौलिक पोसाकमा सजिएर युवाहरूले मारुनी–मादले नाच प्रस्तुत गरेका छन् भने पाका पुस्ताका पुरुष र महिलाहरूले सोरठी गीत गाएर साथ दिएका छन् । सोमबार साँझ नारच्याङ बेशीमा खुल्ला लोक नृत्य प्रतियोगिता भएको थियो ।
सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुईस लचेनलको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा मंगलबार अन्नपूर्ण आरोहण दिवस मनाइदैछ । यसअघि पोखरा र काठमाडौमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । हिमाल भएकै भूगोलमा पहिलो पटक अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मंगलबार हुने समारोहको तयारी पुरा भएको छ । पहिलो आरोही हर्जोग, लुइस लचेन र पहिलो नेपाली आरोही सोनाम वाङचुक शेर्पाको आधार शिविरमा स्थापना भएको शालिक अनावरण, खुल्ला संग्रहालय र मौरीस हर्गोज पदमार्गको उद्घाटन र नारच्याङ वेशीमा मुल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रहेको अन्नपूर्ण गाउपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।

आधार शिविर देखि नारच्याङ बेशी सम्म म्याराथुन दौड प्रतियोगिताको पनि आयोजना गरिएको छ । प्रतियोगितामा ४२ जना धावकहरुले सहभागिता जनाएका छन् । हिरक जयन्तिको अवसरमा जेठ १७ देखि १९ गतेसम्म नारच्याङ गाउँदेखि आधार शिविर जोड्ने मौरिक हर्जोग पदमार्गमा पदयात्रा गरिएको थियो ।
