जेष्ठ नागरिकले सुनाए खानी खन्ने देखि यानीमाया गाएर बिहे गरेको प्रशंग

Gandaki Ghumau

डाडागाउँ, । म्याग्दीको मालिका गाउँपालिका–३ किटेनीमा शनिबार जेष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरण सम्बन्धी अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा भएका कार्यक्रममा डाडागाउँमा रहेका खानी खन्ने, हलो बनाउने, डोकाडाला बुन्ने, ऊन र अल्लोको पुवाबाट कपडा बुन्न, पुर्खौली नाच, यानीमाया गित गाउने जेष्ठ नागरिकहरुले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी विगत र अहिलेको सामाजिक, शैक्षिक, विकासको अवस्था र राजनीतिक व्यवस्थाका कारण भएका परिवर्तनको विषयमा पनि अग्रजहरुले तुलनात्मक अनुभव सुनाउनुभयो । कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले मौलिक, सिप, प्रविधिको संरक्षण, अग्रजको सम्मान, संस्कार र संस्कृतिको प्रर्वद्धन तथा, विदेभ र कुरितिको अन्त्यमा जोड दिनुभयो ।

Shreekrishna

किटेनीका ७२ वर्षीय बिषराम पटेलले तामाखानीमा काम गरेको अनुभवका साथै काठबाट हलोजुवा बनाउने र निगालोको चोयाबाट डोका, डाली बनाउने सिपको बारेमा जानकारी गराउनुभयो । खतेन टोलकी पुर्णकला पटेलले भेडाबाख्राको ऊनबाट हरदुब्लो, काम्लो र अल्लोको पुवाबाट भाङग्रा बुन्ने सिपको बारेमा अनुभव सुनाउनुभयो ।

लिलबहादुर पुन र भिमबहादुर बुढाले पुर्खौली नाचको इतिहाँस, प्रक्रीया, महत्व र अहिलेको अवस्थाका विषयमा अनुभव सुनाउनुभयो । उहाँहरुले पुर्खौली नाच र सोरठी भाकाको संरक्षणका लागि पुस्ताहस्तान्तरण गर्न तालिम आवश्यक रहेको बताउनुभयो ।

भिमबहादुर पुन, टिकादेवी रोका र देउपती रोकाले यानीमाया गित, भजन प्रस्तुत गर्नुका साथै यसको सन्देशको बारेमा ब्याख्या गर्नुभयो । मौलिक यानीमाया गितमा माया प्रेमसँगै सामाजिक बस्तु अवस्थालाई पनि झल्काउने कथावस्तु हुने उहाँहरुले बताउनुभयो । भिमबहादुरले यानीमाया गित गाउने क्रममा आफ्नो बिवाह भएको प्रशंग पनि सुनाउनुभयो ।

अघिल्लो पुस्तासम्म रहेको यानीमाया गित गाउने चलन पछिल्लो पुस्ताले ध्यान नदिदा हराउदै गएकोमा उहाँहरुले चिन्ता व्यक्त गर्नुभयो । अघिल्लो पुस्तामा किरियाघरमा ठाँट कुर्दा होस या युवा युवतिहरु भेट हुँदा यानीमाया गित गाएर रात कटाउने चलन अहिले मानिसहरु भेट हुँदा मोवाइल चलाएर बस्ने, तास, लुडो खेल्न थालेपछि हराउन थालेकोमा चिन्ता जनाउनुभयो ।

शिक्षक टेकबहादुर पुनले बिहान, बेलुकी घाँसपात, खेतबारीको काम गरेर विद्यालय गएको, चौतारीमा बसेर पाटीमा खरिले लेखेर पढ्नुपर्ने विगतको अवस्थाको बारेमा जानकारी गराउदै अहिले टोल टोलमा विद्यालय खुलेको र शिक्षा, स्वास्थ्यको पहुँच बढेको बताउनुभयो ।

Gunasthariya Shiksya

पात्लेका बलबहादुर रोकाले पञ्चायत र राजाका पालामा जनताहरुलाई राज्यबाट धेरै दुख दिने गरिएको बताउदै गणतन्त्र आएपछि नागरिकले स्वतन्त्रतापुर्वक आफ्नो पेशा व्यवसाय गर्न पाएका र संघियतासँगै दुर्गम गाउँबस्तिमा विकासका पुर्वाधार बनेका बताउनुभयो ।

लुम्सीपारकी झाँक्री धनमाया घर्तीले तान्त्रिक उपचार बिधीको अनुभव सुनाउदै आफुकहाँ आउने जटिल किसिमका बिरामीहरुलाई स्वास्थ्य संस्था र अस्पताल पठाउने गरेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले नयाँ पुस्तालाई पुरानो समाजको अवस्था, व्यवस्थाको विषयमा घरकै अग्रजले जानकारी गराउन सकेमा निराशा हटाउन सकिने बिचार व्यक्त गर्नुभयो । समाजमा भइरहेका असल अभ्यास, संस्कार र संस्कृतिको संरक्षण गर्ने विकृति र विभेदको अन्त्य गरि समतामुलक समाज निर्माणमा जोड दिनुभयो ।

मालिका गाउँपालिका ३ का नागरिकसँग चुनावमा गरेका प्रतिवद्धता पुरा गरको बताउदै अदिभारमामा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा रहेको, अदिभारा–डाडागाउँ सडक स्तरोन्नतिको क्रममा रहेको, सबै घरमा केन्द्रिय लाइनको बिजुली बलेको र एक घर एक धारा सहितको खानेपानी योजना निर्माण भएको जानकारी गराउनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले मौलिक सिप, कला र संस्कृतिको संरक्षणका साथै पुस्तान्तरणका लागि समुदाय स्तरमा पुगेर अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

मालिका गाउँपालिका–३ का वडा अध्यक्ष मोतिप्रसाद बुढाले पुर्खौली नाच, सोरठी र यानीमाया संरक्षणका लागि कार्यक्रम बनाउने, हलोजुवा बनाउने, डोकाडाली, काम्लो हरदुब्लो, बुन्ने, बाजा बजाउने तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाउदै स्लेट खानीलाई ब्यवस्थित गर्न गाउँपालिकाले कानुन बनाएको जानकारी गराउनुभयो ।

अमरज्योती माविका प्रअ थमबहादुर पुनले मौलिक भाषा, संस्कार र संस्कृति बचाउन समुदाय स्तरमा जागरण ल्याउनुपर्ने बिचार व्यक्त गर्नुभयो । पुराना कुरितीलाई त्याग्दै प्रविधीको सदुपयोग र असर अभ्यासको अनुसशण गर्न नयाँ पुस्तालाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण म्याग्दी मालिका मिडिया प्रा.ली.का कमल खत्री र सन्तोष गौतमले गर्नुभएको थियो । कार्यक्रममा सहभागी २५ जना जेष्ठ नागरिक तथा समाजका अगुवाहरुलाई सम्मान समेत गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...