
बेनी, गण्डकी प्रदेशको भाग्यरेखा मानिएको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर सडक योजनालाई सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. दुई अर्ब बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले बिहिबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा कालीगण्डकी कोरिडोर योजनालाई उक्त बजेट बिनियोजन भएको जानकारी गराउनु भएको हो ।
“कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर निर्माणलाई तिब्रता दिइनेछ,” अर्थमन्त्री पौडेलले बजेट बक्तब्यमा उल्लेख गर्नुभएको छ “कालीगण्डकी कोरिडोरका लागि रु. दुई अर्ब बजेट ब्यवस्था गरेको छु ।”


भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयका लागि रु. एक खर्ब ५२ अर्ब बजेट बिनियोजन भएको छ । कालीगण्डकी कोरिडार राष्ट्रिय गौरवको आयोजना हो ।
कोरिडोर अन्तरगत दुई सय ४० किलोमिटर दुरीको गैडाकोट–याम्दी–मालढुङ्गा र दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला खण्डमा दुई लेनको सडक निर्माणका लागि योजना सञ्चालन भएको छ ।
नवलपुर, पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला समेटिएको यस सडकको गैडाकोट–राम्म्दी खण्डको एक सय ६५ किलोमिटर यसअघिनै कालोपत्र भएको छ । राम्दी–मालढुङ्गा र मालढुङ्गा–कोरला खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।
यो योजनाका लागि गत वर्ष रु. दुई अर्ब ५० करोड बिनियोजन भएको थियो । यसवर्ष उपल्लो मुस्तांगमा सडक कालोपत्र गर्नका लागि रु. चार अर्ब बजेट मागिएको थियो । सरकारले जम्मा रु. दुई अर्ब बिनियोजन गरेर उपेक्षा गरेको गुनासो त्यहाँका जनप्रतिनिधीहरुले गरेका छन् ।
