
बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीको कार्यसम्पादन मूल्याङ्कनमा सुधार भएको छ ।
गृहमन्त्रालयले मंगलबार सार्वजनिक गरेको जिल्ला प्रशासन कार्यालयहरुको आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिकको कार्यसम्पादन मुल्याङ्कन नतिजामा म्याग्दी देशभरमा १० औ नम्बरमा परेको हो ।
आर्थिक वर्षको पहिलो चौमासिकमा ५५ औ स्थानमा रहेको जिल्ला प्रशासन कार्यालय म्याग्दी दोस्रो चौमासिकमा २३ औ स्थानमा परेको थियो । तेस्रो चौमासिकको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दी प्रशासनले १७ दशमलब ८७५ अंक प्राप्त गरेको छ ।

७७ वटा जिल्ला प्रशासन कार्यालयमा दशौ स्थानमा रहेको म्याग्दी उपसचिवले नेतृत्व गरेको प्रशासनमा दोस्रो स्थानमा छ । गृह मन्त्रालयले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, गुनासो व्यवस्थापन, सेवा प्रवाह, लागु औषध नियन्त्रण लगायतका सूचकको आधारमा मातहतका निकायहरुको प्रत्येक तीन÷तीन महिनामा कार्यसम्पादन मूल्याङ्कन गर्छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सुरुदेखि म्याग्दी प्रशासनको नेतृत्व उपसचिव गुरुदत्त ढकालले गर्नुभएको छ । प्रजिअ ढकालले कार्यसम्पादन मूल्याङ्कनको नतिजाबाट उत्साहीत भएको बताउदै कार्यसम्पादनमा सुधार ल्याउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभयो ।
पछिल्लो समय म्याग्दी प्रशासनले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको छ । प्रशासन कार्यालयको सेवा प्रवाहलाई छिटो छरिटो र चुस्त दुरुस्त बनाउन सहिजकरण तथा समन्वय गरेको छ । सेवाप्रवाहको प्रक्रीयालाई सरल र सहजीकरण गरेपछि सर्वसाधारणलाई सहज भएको छ ।
