
बेनी, । सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार मंगलबार सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ ।
दग्नामको भूमेथानमा स्थानीय एकता युवा क्लबले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गोहरु जुधाउँदा कान्छी गाउँ विजय भएको स्थानीय धनीलाल गर्बुजाले जानकारी दिनुभयो ।
दग्नामको भूमे पूजाको मुख्य आर्कषणको रुपमा लिइएको लिङ्गोे जुधाउने प्रतिस्पर्धामा गैरी र कान्छी गाउँबीच भएको लिङ्गो जुधाइमा कान्छी गाउँ विजयी भएको हो । विगत चार सय वर्ष पहिलेदेखि भूमे पुजाका साथै सोही दिन दग्नामका दुई गाउँका बीचमा लिङ्गो जुधाउने प्रतियोगिता हुँदै आएको एकता युवा क्लब दग्नामका अध्यक्ष मनोज तिलिजाले बताउनुभयो ।



दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजासहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गोे बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा सुरु भएको थियो । यहाँ सामे भुमे, सिद्ध भूमे, देवी, देउराली, भारा, खोला र मण्डलीको पूजाआजा गरी खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोपसहित विनाश नहोस्, स्थानीयको मनोकामना पूरा होस् भनी हरेक वर्षको जेठ महिनामा भूमेपूजा गर्ने गर्दछन् ।
पूजापछि सोही दिन आयोजना गरिने लिङ्गो जुधाउने प्रतियोगितालाई खुसियाली र भावनात्मक प्रतिस्पर्धासँगै एकताको प्रतीकको रुपमा लिने गरिएको स्थानीय गुन पुनले बताउनुभयो । दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझीगाउँ र डाँडागाउँ गरी चार वटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन् । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापताकाले सिँगारिएका अग्ला बाँसका लिङ्गा बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङगो ठड्याएर प्रतिस्पर्धा गरेका थिए ।
पुर्खौली नाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवका बीच आज बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउन स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिँगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ ।
