
बाबियाचौर, । म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा आइतबारदेखि मिनिटेलर मर्मत सम्बन्धी तालिम शुरु भएको छ ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कुश्माको आयोजनामा शुरु भएको तालिम १५ दिनसम्म सञ्चालन हुनेछन् । तालिममा मङ्गला गाउँपालिकाको पाँच वटै वडाका २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
खेतबारी खनजोतका लागि पछिल्लो समय गोरुको विकाल्पमा मिनिटेलरको प्रयोग बढ्दो छ । मिनिटेलर बिग्रिएको अवस्थामा मर्मत गर्ने जनशक्ति स्थानीय स्तरमा नहुँदा कृषकहरुलाई समस्या भएको छ । गाउँघरमै मिनिटेलर मर्मत गर्न सक्ने जनशक्ति तयार पार्न तालिम सञ्चालन गरिएको हो ।


व्यवसायिक सीप विकास तालिम केन्द्र पर्वतका प्रमुख मोहनचन्द्र सुवेदीको अध्यक्षतामा सञ्चालन भएको तालिमको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, वडा नं.–२ का अध्यक्ष धनबहादुर खाती (क्षेत्री) र मङ्गला शिक्षा क्याम्पसका प्रमुख पितमबहादुर खत्रीको पनि आतिथ्यता रहेको थियो ।
मङ्गला गाउँपालिकाका रोजगार संयोजक कृष्णप्रसाद भुषालले सञ्चालन गर्नुभएको कार्यक्रममा व्यवसायिक सीप विकास तथा तालिम केन्द्रका लेखा अधिकृत नेत्रप्रसाद रेग्मीले तालिमको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो ।
अध्यक्ष रोकाले मिनिटेलर मर्मत गर्न काम रोकेर बेनी पुग्नुपर्ने समस्या हटाउन तालिम उपयोगी बन्ने अपेक्षा गर्नुभयो । उपाध्यक्ष खत्रीले तालिममा ध्यान दिएर ज्ञान हासिल गर्न र सिकेको सिपको सदुपयोग गर्न आग्रह गर्नुभयो । तालिमको प्रमुख प्रशिक्षक रमेश पौडेल रहनुभएको छ ।
