
मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार जनचेतनामुलक सडक नाटक प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा भएको प्रतियोगितामा नौ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा जनजागृति मावि मल्कवाङ प्रथम, किसानी चन्द्रकुन्ता मावि धारापानी दितृय, ताकम मावि तृतीय र धनजनता मावि फलियागाउँ सान्तवना भएका छन् ।


जनकल्याण मावि गुर्जाका अमित बिक पुरुष र चन्द्रज्योती मावि खिवाङकी चाहाना घर्ती महिलातर्फ उत्कृष्ट कलाकार घोषित भए । प्रथम, दृतीय, तृतीय र शान्तवना हुने विद्यालयलाई क्रमश रु. दश हजार, सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

उत्कृष्ट कलाकारलाई नगद रु. एक हजार तीन सय ५० का दरले पुरस्कृत गरिएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोकालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
विद्यार्थीहरु मार्फत समाजका विकृति, बेतिथिका विरुद्ध सचेतना फैलाउने र उनिहरुको प्रतिभा पहिचान गरि प्रस्फुटनको अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।
विद्यार्थीहरुले बालबिवाह, मदिराको अत्याधिक प्रयोग, लैङ्गिक हिंसा, जातीय विभेद, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका विषयमा सन्देशमुलक नाटक प्रस्तुत गरेका थिए ।

