
बेनी, म्याग्दीको हिमाली क्षेत्रमा शक्तिब्रद्र्धक र बहुमूल्य जडिवुटी यार्सागुम्बा संकलन गर्न थालिएको छ ।
धवलागिरी गाउँपालिका–१ गुर्जा, वडा नं.–४ मुदी र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाहरु यार्सागुम्बा खोज्न हिमाल फेदीको बुकी पाटनमा पुगेका छन् । गुर्जा, चुरेन र धौलागिरि हिमालको फेदीमा यार्सागुम्बा पाइने गर्छ ।
धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले गुर्जाका अधिकांश घरबाट यार्सा खोज्न हिमाली क्षेत्रमा गएका बताउनुभयो । गुर्जामा वैशाखको २६ गतेदेखि यार्सा संकलन गर्न खुला गरिएको थियो । गुर्जामा रहेका दुई सय ५० घरपरिवार मध्य एक वटा घरबाट कम्तीमा एक जना यार्सा खोज्न गएका वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले हिउँदेबाली भित्र्याउने र बर्खेबाली लगाउने तथा उपभोक्ता समिति मार्फत सञ्चालित विकास आयोजनाको काम सकेर स्थानीयबासीहरु यार्सागुम्बा खोज्न धौलागिरि हिमाल फेदीको कालीबराह बुकीमा गएका बताउनुभयो ।
चिमखोलाबाट करिब ५० जना स्थानीयबासी यार्सागुम्बा खोज्न बुकीमा गएका छन् । वैशाखको अन्तिम सातादेखि जेठ महिनाको तेस्रो हप्तासम्मका लागि पुग्ने खाद्यान्न, लत्ताकपडा लिएर यार्सा खोज्न बुकी गएका हुन् । अनुकुल मौसम हुदाँ दैनिक एक सय गोटासम्म यार्सागुम्बा संकलन हुने र एक जनाले रु. दुई लाख भन्दा बढी आम्दानी गर्छन् ।

यार्सा सङ्कलकहरु बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । सङ्कलन भएको यार्सा स्थानीय स्तरमा प्रतिगोटा रु. दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा सङ्कलन गर्दै गरेका गमान गर्बुजाले बताउनुभयो ।
यार्सा सङ्कलन हिमाली क्षेत्रका बासीन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ । यार्सा टिप्न जानेहरुले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन् । यार्सा सङ्कलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी बनेको छ ।
यार्सा सङ्कलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केहि वर्षअघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ । चालु आर्थिक वर्षमा हालसम्म कसैले यार्सागुम्बा संकलनको अनुमति नलिएका डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिनुभयो ।
यार्सागुम्बा सङ्कलन र निकासीका लागि राजस्व तिरेर सङ्कलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । गत वर्ष आधा किलोग्राम यार्सागुम्बाको लागि छोडपुर्जी जारी भएको थियो । प्रतिकिलो यार्सागुम्बा निकासी गर्न रु. १० हजार राजस्व तिर्नुपर्छ ।
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा सङ्कलनकर्ताले सङ्कलन भएपछि मात्रै सोही बमोजिमको सङ्कलन पुर्जी काट्ने चलन छ । सर्वसाधारणबाट व्यवसायिहरुले प्रतिकिलो रु. पाँच लाख देखि रु. छ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो रु. आठदेखि रु. १० लाखसम्म रहेको जानकार बताउँछन् ।
