
बेनी । सडक यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा रहेको मालिका जाने भक्तजन र पर्यटकलाई सहज भएको छ ।
मालिका गाउँपालिका–७ बिम नागीथला र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानी देखि देउरालीसम्म गाडी चल्न थालेपछि मालिका धुरीमा पुजाआजा र दृष्यअवलोकन गर्न जानेहरुलाई सहज भएको हो ।
समुन्द्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाईमा रहेको मालिकामा हरेक वर्षको चण्डी (वैशाख पूर्णिमा), भाइटिका र बालाचर्तुदर्शीका दिन धार्मिक मेला लाग्ने गर्छ । सडक यातायातको सुविधाका कारण भक्तजनको आगमन बढेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।

“मालिकामा पुजाआजा, दर्शन र दृष्य अवलोकन गर्नका लागि अब अघिल्लै दिन आएर टहरा, ओडारमा बास बस्नु पर्दैन,” उहाँले भन्नुभयो “बिहान घरबाट गाडी चढेर आएका भक्तजन मालिकामा पुजा गरेर दिउँसै घर पुगे ।”

सोमबार बिहान देखि दिउँसो दुई बजेसम्म चार हजार पाँच सय भन्दा बढी भक्तजनले मालिकामा पुजाआजाका लागि आएका अध्यक्ष पाइजाले बताउनुभयो । म्याग्दीको साथै पर्वत र बागलुङ जिल्लाबाट भक्तजनहरु आएका हुन् ।
यसअघि मालिका दर्शनका लागि भक्तजनहरु अघिल्लो दिन नजिकै गएर जङ्जलको ओडार र टहरामा बास बस्ने गर्दथे । मालिका गाउँपालिकाको बिम तर्फबाट नागीथलासम्म पुगेको सडकबाट ३० मिनेट पैदलयात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ । रघुगङ्गा गाउँपालिकाको ठाडाखानी तर्फबाट देउराली सम्म गाडी र त्यसपछि ४० मिनेट पैदलयात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ ।
बीसभन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ । दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले बताउनुभयो ।
मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ । चण्डी पुर्णीमामा आएका भक्तजनहरुबाट रु. ९० हजार भेटी संकलन र खर्च कटाएर रु. ६७ हजार बचत भएको अध्यक्ष पाइजाले बताउनुभयो ।
अध्यक्ष पाइजाका अनुसार मालिका धुरीमा रघुगङ्गा गाउँपालिका–६ पाखापानीका भक्तीप्रसाद पाइजाले व्यक्तिगत लगानीमा शिव र जालपाको मन्दिर निर्माण गर्नुभएको छ । मन्दिर निर्माणमा पाईजाले करिब रु. ३४ लाख खर्चनुभएको उहाँले बताउनुभयो ।
