
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको लाखेत पर्यटक र पूूर्वाधारको पर्खाइमा छ ।
प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले मुना र फलीगाउँको शिर तथा मालिका धुरीको फेदीमा रहेको समथर फाँट लाखेतमा पर्यटक भित्र्न सकेका छैनन् । समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटर उचाईमा रहेको लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरी गाउँपालिकाका ग्रामिण वस्तिहरु, पहाडी भूगोल र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।
मुनाका बासिन्दा मदन पुनले प्राकृतिक हिसाबले सुन्दर र मनोरम स्थल लाखेत सधै सुनसान भएको बताउनुभयो । “दृष्य अवलोकनका साथै शान्त र एकान्त वातावरण पनि लाखेतको विशेषता हो,” उहाँले भन्नुभयो “मुना र फलीयागाउँ हुदै ढोरपाटन, गुर्जा, डोल्पा र धौलागिरि चक्रीय पदमार्गमा आउने पर्यटकलाई लाखेत घुमाएर बसाई लम्बाउन सकिन्छ ।”


लाखेत नजिकैको खर्क र बारीमा हिउँदयाममा गाईभैसीका घुम्ती गोठहरु राख्ने गरिन्छ । गोठालाहरुको दैनिकी र जिवनशैलीले पनि पर्यटक लोभ्याउन सक्ने सम्भावना छ । मुना र फलियागाउँ देखि करिब ३० मिनेट उकालो पैदलयात्रा र सवारी साधनमा १० मिनेटमा लाखेतमा पुगिन्छ । केही वर्षअघिसम्म मकै, कोदो र आलु खेती हुने लाखेतको बारी बाँझिन थालेको छ । घुम्ति पशुगोठ लैचाने चलन हराएको छ ।
युवा पुस्ता विदेश पलायन र बसाईसराईका कारण बारी बाझिनुका साथै घुम्ती गोठ हराएको हो । लाखेतमा बनभोज स्थल बनाउन आर्थिक वर्ष २०७६÷०७७ मा डिभिजन वन कार्यालय मार्फत सार्वजनिक शौचालय र दृष्य अवलोकन स्थल निर्माण भएको थियो । संरक्षण र उपभोग नहुँदा शौचालय र दृष्य अवलोकन स्थल अलपत्र भएको छ । धवलागिरी गाउँपालिकाले मुना देखि लाखेत सम्म सडक पु¥याएको छ ।
मुना देखि धार्मिक पर्यटकीय स्थल मालिका धुरी जाने सडक लाखेतको नजिकै छ । मालिका जोड्ने सडक स्तरोन्नति, फलीगाउँ र मुना देखि लाखेत जोड्ने पदमार्ग निर्माण गर्न आवश्यक छ । साथै यहाँको विशेषता र आकर्षणको बारेमा प्रचारप्रसार नभएकाले पनि ओझेलमा परेको हो ।
लाखेतलाई बनभोज स्थलको रुपमा विकास गर्न पहल गरेको धवलागिरी गाउँपालिका–३ मुनाका वडा अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो । मुना र फलीगाउँमा बास बस्ने पर्यटकहरुलाई हाईकिङ गराएर लाखेत सम्म पु¥याउने र दृष्य अवलोकन गराउने ब्यवस्था मिलाउन पहल गरेको उहाँले बताउनुभयो ।
