
बेनी । म्याग्दी जिल्ला भलिवल संघको आयोजनामा बेनीमा सञ्चालन भएको भलिवल प्रशिक्षण मंगलबार सम्पन्न भएको छ ।
एक महिनासम्म सञ्चालन भएको तालिममा खेलकुद, भलिबल, खेलकौशल र अनुशासनका विषयमा प्रशिक्षण दिइएको थियो । विशेष गरेर एसईई र विद्यालयको वार्षिक परिक्षा दिएर बसेका भलिबल खेलप्रति रुची भएकाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

सिपयुक्त, दक्ष र कुशल खेलाडी उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो । बानियाका साथै संघका महासचिव कुमार किसानले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा करिब ४० जनाको सहभागिता थियो । समापन कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले खेलकुदको विकासमा स्थानीय तहको भूमिकालाई जोड दिंदै, प्रशिक्षण स्थल निर्माणका लागि नगरपालिकाबाट रु. १५ लाख बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको तर्फबाट आयोजित ट्राफिक अभिमुखीकरण कार्यक्रमको समेत आयोजना गरिएको थियो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले प्रशिक्षणमा सहभागी खेलाडीहरूलाई सडक सुरक्षाको जानकारी गराउनुभएको थियो ।
