
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा गण्डकी प्रदेश सरकार मार्फत सञ्चालित सिचाई, खानेपानी र नदि नियन्त्रण सम्बन्धी योजनाहरुको मंगलबार अनुगमन गरिएको छ ।
म्याग्दी १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी नेतृत्वको टोलीले खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीद्धारा अन्नपूर्ण गाउँपालिका–१, ४, ५ र ६ नम्बर वडामा सञ्चालित योजनाहरुको अनुगमन गरेको हो ।
जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका डिभिजन प्रमुख झलकमोहन ओझाको अनुगमनमा सहभागीता थियो ।


अन्नपूर्ण गाउँपालिका–१ दोवामा सम्पन्न हुने चरणमा रहेको एक घर, एक घारा सहितको खानेपानी आयोजना, वडा नम्बर ४ मा चालु आर्थिक वर्षदेखि शुरु भएको नारच्याङ लेकगाउँ सेराफाट सिचाई योजना, अन्नपूर्ण–५ को तल्लो र उपल्लो शिख, वडा नं.–६ को लुलीया खानेपानी टंकी र पोखरेबगर नदी नियन्त्रण योजनाको अनुगमन गरिएको थियो ।

निर्माणाधिन र सम्पन्न भएका योजनाहरुको स्थलगत निरिक्षण गरि उपभोक्ताहरुको प्रतिक्रिया बुझ्ने, उपभोक्ता समितिलाई सुझाव दिने, जनप्रतिनिधी र सरोकारवालाहरुसँग छलफल गरिएको थियो । सम्पन्न हुने चरणमा रहेको दोवा खानेपानी उपभोक्ता समितिका पदाधीकारीहरुले मुहान संरक्षणको माग गरेका थिए ।
लेकगाउँस्वाँरा सिचाई योजनालाई पूर्णता दिन बहुबर्षीय योजना सञ्चालन गर्न, शिख तल्लो, उपल्लोगाउँ र लुलीया खानेपानीका उपभोक्ताले थप बजेट ब्यवस्था गरेर योजना सम्पन्न गराउन अनुरोध गरेका थिए ।
टोलीका संयोजक सांसद भण्डारीले योजनाहरुलाई प्रभावकारी र उपलब्धीमुलक बनाउनका लागि अनुगमन गरि, सुझाव र उपभोक्ताहरुको सुझाव संकलन गरिएको बताउनुभयो । सांसद भण्डारी र कार्यालय प्रमुख ओझाले सुरु भएका योजनाहरुलाई पूर्णता दिने गरि बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाउदै निर्माण भएका योजनाहरुको दिगो प्रयोग र संरक्षणमा जोड दिनुभयो ।


