
धारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा सोमबार बगाले थापाका आदिपुरुष कालु थापाको ८८२औ जन्मजयन्ति मनाइएको छ ।
बगाले थापा क्षेत्री समाजको आयोजनामा धारापानी स्थित निशानघर परिसरमा रहेको कालु थापाको शालिकमा माल्यार्पण गरेर उहाँको योगदानको चर्चा र स्मरण गरिएको हो ।
समाजका सल्लाहकार थमबहादुर थापाको अध्यक्षता, सचिव रिमप्रकाश थापाको सञ्चालन र होमबहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा भरतबहादुर थापा, किरन थापा, झलक थापा र रिमबहादुर थापाले मन्तब्य व्यक्त गर्नुभयो ।


वत्ताहरुले इतिहाँसको संरक्षण र एकतामा जोड दिनुभयो । थापा थरका क्षेत्रीहरुको बाहुल्य बसोबास रहेको धारापानीमा बगाले थापा क्षेत्रीको निशान कालिका मन्दिर छ । कालु थापाबाट थापाहरुको विस्तार भएको इतिहाँस छ ।
वि.स. १२०० मा तत्कालीन डोटी राज्यको राजा हुँदै सिञ्जा राज्यको राजा बन्नुभएका कालु बगाले थापा क्षेत्रका कुलपुरुष मानिनुहुन्छ । अमरसिंह थापा, भीमसेन थापा पनि कालुकै सन्तान हुनुहुन्छ । ताकमकोतमा थापा राजाले शाषन सञ्चालन गरेका थिए ।
कालु शुभकन्या थापाका सुपुत्र हुनुहुन्थ्यो । उहाँका माहिला छोरा तारापति पछि म्याग्दी जिल्लाको ताकममा आएर राज्य सञ्चालन गरेको इतिहाँस छ । सिञ्जा क्षेत्रबाट ताकम हुँदै देशका विभिन्न भागमा बगाले थापा क्षेत्री छरिएर बसोबास गर्न थालेको इतिहाँसमा उल्लेख छ ।
