
म्याग्दी, ः म्याग्दीको लुलाङ–गुर्जा सडक योजना अन्तर्गत धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडकको करिब १६ किलोमिटर ट्याक निर्माण भएको छ ।
थप करिब पाँच किलोमिटर ट्याक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने बताइएको छ । धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले लुलाङ देखि देउराली–लत्रवाङ हुदै भालुखोरीयासम्म करिब १६ किलोमिटर सडकको ट्याक निर्माण भएको जानकारी दिनुभयो ।
“आर्थिक वर्ष २०७९÷०८० देखि लमसुङबाट सुरु गरेको सडकको करिब १६ किलोमिटर ट्याक निर्माण भएर गाडी चल्न थालेका छन,” उहाँले भन्नुभयो “यो वर्षको बजेटले वनथानसम्म पुग्ने सडकको थप पाँच किलोमिटर ट्याक खनेर गुर्जामा जोड्न गाउँपालिकाले आगामी वर्षको संघीय समपुरक अनुदानका लागि प्रस्ताव गरेको छ ।”
गत वर्ष भएको ठेक्का सम्झौता मार्फत लुलाङ देखि देउराली हुदै लत्रवाङ नजिकसम्म नौ दशमलब पाँच किलोमिटर मार्ग खुलेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।


“गत आर्थिक वर्षमा संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाले रु. दुई÷दुई करोडका दरले बजेट बिनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रु. तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो,” उहाँले भन्नुभयो “गाउँपालिकाले कार्यान्वयन गरेको तीनै तहका बजेटको उक्त योजनाको काम सकेर नयाँ ठेक्का मार्फत ट्याक खन्ने काम भइरहेको छ ।”
योजना मार्फत सडकको मार्ग खोल्नुका साथै विभिन्न ठाउँमा ग्यावीयन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ । यसअघि गाउँपालिकाको केन्द्र मुना हुदै वडा नम्बर –२ लुलाङ सम्म सडक पुगिसकेको थियो ।
आर्थिक वर्ष २०७९÷०८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङ देखि लुलाङ हुदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो । धवलागिरीका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार मुना देखि लत्रवाङ सम्मको सडकको दुरी २५ किलोमिटर छ ।

लत्रवाङ देखि गुर्जातर्फ सडक निर्माणका लागि संघीय सरकार र गाउँपालिकाको साझेदारीमा बिनियोजन भएको रु. ७० लाख बजेट भएको योजना ठेक्का मार्फत भालुखोरीयादेखि वनथानतर्फ सडकको ट्याक खन्न डोजर परिचालन भएको छ ।
प्रदेश सरकारले बिनियोजन गरेको रु. ५० लाखको बजेटबाट पूर्वाधार विकास कार्यायलले लुलाङ देखि देउराली खण्डमा स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । संघीय सरकारले सडक डिभिजन कार्यालय बागलुङ मार्फत बिनियोजन गरेको रु. एक करोड बजेट मार्फत बाङखोलामा पर्खाल, ग्रेड सुधार र महतलाको भिरमा ढलान गर्न आयोजना सञ्चालन भएको छ ।
स्थानीय पूर्वाधार विकास आयोजना पोखरा अन्तर्गत अर्को शिर्षकमा बिनियोजन भएको रु. एक करोड बजेटको योजना मार्फत लमसुङ– लुलाङ खण्डमा स्तरोन्नति भइरहेको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङ स्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

यसैहप्ता गुर्जा पुगेर फर्कनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले दरखोलाको पुल र गुर्जा जोड्ने सडक निर्माणलाई पूर्णता दिने बताउनुभयो । लुलाङ–गुर्जा सडक अन्तर्गत लत्रवाङसम्म गाडी चल्न थालेपछि पुरै दिनको यात्राअवधी चार घण्टामा छोटिएको छ ।
दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छ वटा स्थानीय तहका ४५ मध्य सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो ।
गुर्जासम्म सडक नपुगेपनि बिच बाटोसम्म गाडी चल्न थालेपछि गुर्जाबासीको आधा भन्दा बढी बाटो पैदलयात्रा गर्नुपर्ने बाटो छोटिएको हो । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरधुरी रहेको गुर्जाको जनसंख्या एक हजार पाँच सय पाँच जना छ । खानी उत्खनन्का लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहाँस छ ।
सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरिया मार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर चार्टर गर्नुपर्छ । सडक यातायातको सुविधा भएपछि गुर्जाका बासिन्दालाई सहज हुनुका साथै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।
