

काठमाडौ, ६ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको पहिचान झल्कने स्वागत गित सार्वजनिक भएको छ ।
धवलागिरी गाउँपालिका समाज काठमाडौले तयार पारेको गितको म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले शनिबार सार्वजनिक गर्नुभएको हो । गितमा लोक गायक खड्ग गर्बुजाको शब्द, स्वर र संगित रहेको छ ।
नयाँ वर्ष २०८२ को अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा गितका साथै समाजले प्रकाशन गरेको क्यालेण्डर पनि बिमोचन भएको थियो । अग्रजहरुलाई सम्मान र सांस्कृतिक कार्यक्रम पनि भएको समाजले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य गर्बुजाले म्याग्दीको विकासका लागि जनप्रतिनिधीको भूमिका निर्वाह गरिरहेको बताउदै जनताको आपत विपत र समस्यामा सधै साथमा रहेको बताउनुभयो । उहाँले काठमाडौमा रहेका धवलागिरी गाउँपालिका बासिहरु एकतावद्ध भएर गाउँठाउँको पहिचान र सामाजिक एकताका लागि प्रशसनीय कार्य गरेकोमा धन्यवाद दिनुभयो ।


यसैगरी तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले काठमाडौमा रहेर धवलागिरीको पर्यटन र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्न भएको प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई सम्मान गरिएको थियो ।
उहाँले सम्मानले आफूलाई हौसाला मिलेको बताउनुभयो । समाजका प्रमुख सल्लाहकार दिपबहादुर छन्त्यालले लामो प्रयासपछि धवलागिरी चिनारी गीत सार्वजनिक गर्न सफल भएको बताउदै म्युजिक भिडियो पनि तयार पारिने जानकारी दिनुभयो ।
म्युजिक भिडियो निर्माणका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना)का पुर्वअध्यक्षहरु तेजप्रकाश पुन (मेजरमान), योगेन्द्र केसी, चक्र थापा र अमर छन्त्यालहरुबाट प्रायोजन हुने गरि रु. एक÷एक लाख आर्थिक सहयोग हुने छन्त्यालले कार्यक्रममा जानकारी दिनुभयो ।
काठमाडौमा बस्ने धवलागिरी गाउँपालिका अन्तर्गतका सातै वडाका कलाकारहरुको नृत्य सहित गित प्रस्तुत गरिएको थियो । विभिन्न विधामा योगदान गर्ने धवलागिरी गाउँपालिकाका बासिन्दाहरुलाई सम्मान गरिएको थियो ।
८४ वर्ष पुगेका जेष्ठ नागरिक र आर्थिक सहयोग दाताहरुलाई कदरप्रत्र प्रदान गरिएको थियो । समाजका अध्यक्ष लिलबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा लोक गायक खड्ग गर्बुजाले गित प्रस्तुत गर्नुभएको थियो ।
