
बेनी ः चालु आर्थिक वर्ष २०८१÷०८२ मा बेनी नगरपालिकाले सबैभन्दा धेरै बजेट बिनियोजन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न भएको छ ।
संघीय सरकारको समपुरक अनुदान रु. एक करोड ५० लाख र बेनी नगरपालिकाको रु. एक करोड ५० लाख बजेट बिनियोजन भएको यो सडक बेनी नगरपालिकाको ५, ६, ९, १० र रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने जिल्लाको प्राथमिकता प्राप्त योजना पनि हो ।
बजेट अभाव, आर्थिक संकट, निर्माण सामग्रीको मूल्य वृद्धि, सामाजिक लगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ति भइरहेको अवस्थामा बेनी–अर्थुङ्गे–तोरीपानी–सडक योजनाको ठेक्का पाएको निर्माण कम्पनीले छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना तीन महिनामै सम्पन्न गरेको हो ।

गत पुष १९ गते रु. दुई करोड नौ लाखमा विकेश–दुप्चेश्वर–सुभम् जेभीले ठेक्का सम्झौता गरेको योजना आगामी वि.स. २०८२ असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी नगरपालिकाको अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख ज्योती लामिछाने नेतृत्वमा जनप्रतिनिधी, प्राविधिक र कर्मचारीहरुको टोलीले मंगलबार योजनाको अनुगमन गरेको थियो ।

“निर्माण कम्पनीले सम्झौता अनुसार परिणाममा सडक स्तरोन्नतिको लागि संरचना निर्माण गरेको छ,” उहाँले भन्नुभयो “सडक र नालीमा गरिएको ढलानको उपकरणको सहायताले नमुना परिक्षण गर्दा तोकिएको भन्दा बढी गुणस्तरको काम गरेको पाइयो ।” पहिलो चरणको ठेक्काबाट बचेको रु. २० लाख बजेट बराबरको थप काम गर्न हालै ठेक्का आव्हान भएको नगर उपप्रमुख लामिछानेले जानकारी दिनुभयो ।
उक्त योजना मार्फत बेनी–पाखापानी सडकको प्रवेश विन्दु, रातोपहिरो, गिठीनी र बेनी नगरपालिका वडा नम्बर ९ र १० को सिमाना पात्लेखेतमा नौसय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल र नाली निर्माण गरेर ढलान भएको नगरपालिकाका ईञ्जिनियर सुदिप गौतमले बताउनुभयो ।
ढलान, नाली, ग्यावीयन जाली भर्ने, पलम, मेसिनरी पर्खाल र मेशिनरी पर्खाल निर्माण भएपछि सडक सहज र सुरक्षित भएको छ । निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौता लगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघिनै योजना निर्माण गरेको बताउनुभयो ।
तत्कालीन जिल्ला विकास समितिले वि.स. २०५६ मा ट्रयाक खोलेको यो सडकको बेनी देखि अर्थुङ्गे हुदै किराखोर सम्म नगरपालिका मार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ । किराखोर देखि नेप्टचौर हुदै तोरीपानीको गलेश्वर मावि सम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरेको छ ।
नेप्टेचौरको वडा कार्यालय देखि गिठीनी हुदै पात्लेखेत तर्फको बेनी पाखापानी सडकको बैकल्पिक सडक बेनी नगरपालिकाले स्तरोन्नति गर्न थालेको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी जिल्लाकै प्राथमिकताप्राप्त बेनी–पाखापानी सडक योजनालाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि सहजिकरण र समन्वय गरिएको बताउनुभयो ।
