
बेनी, । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्य समिति म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट विजय परियारको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा युकेन क्षेत्री, दुर्गामाया रोका, सचिवमा शिव वोहोरा, कोषाध्यक्षमा मनिका पुन, सहसचिवमा भुवन विश्वकर्मा र सहकोषाध्यक्षमा अस्मिता रोका चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सन्दिप मल्ल, गरिमा परियार, अनुपमा घर्ति, हरिकला सापकोटा, झरना विक, मार्कस विक, अभि वोहोरा र बाबुराम सुवेदी चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुवास मल्लले संगीतकर्मीहरु देशको अवस्था र व्यवस्था परिवर्तनको संवाहक भएको बताउनुभयो । उहाँले कला, साहित्य र संस्कृतिको विकासका लागि सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताउँदै अवको संगीत परिवर्तन र विकास उन्मुख हुनुपर्ने बताउनुभयो ।


नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्र थापाले कला र संगीतले मानिसलाई सभ्यता र संस्कार समेत सिकाउने बताउनुभयो । जनजीवनका गीत र सृजनाहरु कालजयी बनेको उदाहरण प्रस्तुत गर्नुहुदै उहाँले कलाकारहरुले लोकप्रीयताका लागि भन्दा पनि जनताहरुलाई परिवर्तन र रुपान्तरण गर्ने खालका गीतहरु गाउनुपर्ने बताउनुभयो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले समाज विकासका लागि साँस्कृतिक जागरण आवश्यक रहेको बताउनुभयो । नेकपा एमाले म्याग्दीका उपाध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, सचिवालय सदस्य टकसरा राना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल म्याग्दीका अध्यक्ष अमित विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष देवि जिसीको स्वागत र शिव वोहोराको संचालनमा सम्पन्न भएको थियो ।
