सिम–कुहुँ–टोड्के सडक स्तरोन्नति धमाधम

Gandaki Ghumau

बेनी, । म्याग्दीको मङ्गला गाउँपालिका–२ सिम देखि कोत्रवाङ–खुम्ल्याह– पैयुपाटा–कुहुँ–पूर्णगाउँ हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नतिको लागि आयोजना सञ्चालन भएको छ ।

संघीय सरकार र मङ्गला गाउँपालिकाको लागत साझेदारीमा यस वर्ष सडकको प्रवेश बिन्दुमा पर्ने सिम र खुम्ल्याह क्षेत्रमा फराकिलो पार्ने, नाली, ग्यावीयन पर्खाल बनाउने र ढलान गर्ने योजना सञ्चालन भएको हो । रु. चार करोड बिनियोजन भएको यो आयोजना मङ्गला गाउँपालिकाको यो वर्षको सबैभन्दा ठूलो हो ।

यस योजनाका लागि त्रिशक्ति कन्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिले रु तीन करोड १३ लाख ६८ हजार एक सय ४९ मा ठेकका सम्झौता गरेर कार्यक्षेत्रमा परिचालन भएको मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।

Shreekrishna

आगामी असार १० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । सिमचोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति गर्न थालिएको यस योजनामा यस वर्ष तीन सय ५० मिटर सडक ढलान हुनेछ ।

Gunasthariya Shiksya

सिमचोक, पातलको उकालो, कुहुँ र पूर्णगाउँ क्षेत्रमा सडकमा ग्यावियन जाली लगाउने, मेसिनरी पर्खाल निर्माण गर्ने र सडक सुरक्षाका काम गरेर स्तरोन्नति गरिने गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले जानकारी दिनुभयो ।

यसअघि गत वर्ष कोत्रबाङ बस्ती क्षेत्रमा छ सय ६० मिटर सडक कालोपत्र गरिसकिएको छ भने दुई सय ५० मिटर सडक ढलान गरिएको छ । वि.स. २०६७ मा स्थानीयबासी, तत्कालीन कुहुँ गाविस र जिविसको बजेटबाट मार्ग खोलिएको सिम–कुहुँ हुदै टोड्के जोड्ने सडक स्तरोन्नतिको योजनालाई गाउँपालिकाले प्राथमिकता दिदै आएको छ ।

यो सडकबाट मङ्गला गाउँपालिका–१ कुहुँ र वडा नं.–२ बाबियाचौरका बासिन्दाका साथै मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्के घुम्न जाने पर्यटकहरुलाई सुबिधा पुग्ने कुहुँका वडा अध्यक्ष एकजित रोकाले बताउनुभयो ।

सडक स्तरोन्नति भएपछि यात्रा सहज हुने, यात्राअवधी छोटिने, दुर्घटनाको जोखिम घट्ने, ढुवानी र सार्वजनिक यातायातको भाडादर घट्ने अपेक्षा गरिएको छ । सिम–कुहुँ–टोड्के सहित मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...