बेनी नगरपालिकाको ४८ प्रतिशत बजेट खर्च

Gandaki Ghumau

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ४८ प्रतिशत बजेट खर्च गरेको छ ।

कुल रु. ७४ करोड ७० लाख ९८ हजार बजेट बिनियोजन भएकोमा साउन देखि हालसम्म रु. ३६ करोड २१ लाख ३५ हजार अथवा ४८.४७ प्रतिशत बजेट खर्च भएको बुधबार पात्लेखेतमा आयोजित सार्वजनिक सुनुवाईमा जानकारी गराइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले चालुतर्फको ५४.६१ प्रतिशत र पुजिगत तर्फ ३२.६७ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । रु. चार करोड ५२ लाख ४० हजार आन्तरिक आम्दानी हुने प्रक्षेपण गरिएकोमा आठ महिनाको अवधीमा रु. दुई करोड १० लाख १७ हजार आठ सय ९३ आन्तरिक आम्दानी भएको छ ।

Shreekrishna

नगर स्तरीय ३५ वटा पूर्वाधार योजना मध्य १९ वटाको सम्झौता र १२ वटा ठेक्का प्रक्रीयामा रहेका छन् । वडा स्तरीय दुई सय ९३ वटा योजना मध्य दुई सय ४५ वटा सम्झौता, एक सय २५ सम्पन्न भएका र ४८ वटा सम्झौता हुन बाँकी रहेका छन् ।

Gunasthariya Shiksya

ठेक्का मार्फत कार्यान्वयन भएका बेनी लभ्लिहिल ज्यामरुककोट सडक, कालिपुल कृषि भवन निर्माण सकिएको, अर्थुङ्गे–पुलाचौर, महारानीथान छाप डाडाखेत, बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत, गलेश्वर बजार सौन्दर्यकरण, रत्नेचौर परम वैदिक धार्मिक आश्रम र श्रीलक्ष्मीहरि मन्दिर पूर्वाधार योजना निर्माणाधिन अवस्थामा छन् ।

पशु बधशाला, बेनी पुलाचौर सडक मर्मत, बेनपा ७ को वडा कार्यालय कोठा थप, कालीगण्डकी स्वच्छता र बेनी खुल्ला मञ्च योजना ठेक्का प्रक्रियामा छन् । आठ जनालाई विज्ञान र गणित विषय अध्ययन गर्न र १९ जनालाई विपन्न दलित जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको छ । एक हजार एक सय जना जेष्ठ नागरिकलाई हरेक महिना घरमै पुगेर स्वास्थ्य सेवा र विपन्न एक सय ७७ जना नागरिकको स्वास्थ्य बिमा प्रक्रिया अघि बढाइएको छ ।

बेनी नगरपालिका–३ भकिम्लीमा किबी, वडा नं.–९ घतानमा केरा पकेट स्थापना, वडा नं. ७ र ८ बाहेकका आठ वटा वडामा आईपिएम कृषक पाठशाला सञ्चालन गरिएको छ । दुई सय माटोको नमुना परिक्षण, पाँच सय ६८ जना कृषकका १९ हजार पाँच सय ९८ पशुपंक्षीको औषधी उपचार, एक सय ५२ गाईभैसीमा नश्ल सुधारका लागि कृत्रिम गर्भाधान, ३० वटा बाख्रा र १९ वटा गाईभैसी फार्मलाई उत्पादनमा आधारित अनुदान वितरण गर्न छनौट गरिएको छ ।

३० जना युवतिहरुलाई २० दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको र वडा नं. १ र ५ मा आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालनको तयारी भएको छ । तीन हजार चार सय २१ जनालाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श सेवा प्रदान गरिएको छ ।

न्यायिक समितिमा दर्ता भएका १६ वटा मध्य १३ वटा उजुरीको फस्यौट भएको र तीन वटा प्रक्रीयामा रहेका छन् । कार्यक्रममा बेनी नगरपालिका, वडा, शाखा, विषयगत कार्यालयले प्रवाह गर्ने सेवा र विकास निर्माणका विषयमा छलफल भएको थियो ।

सेवाग्राहीहरुले गरेका प्रश्नको नगर प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका ईञ्जिनियर शिवसंकर शाह लगायतले जवाफ दिनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...