
बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा यस वर्षको शिवरात्री पर्वमा रु. चार लाख ३३ हजार भेटि संकलन भएको छ ।
शिवरात्री पर्वको अवसरमा बुधबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले चढाएको भेटि बिहिबार बिहान गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यालय परिसरमा गनिएको हो । रु. चार लाख ३३ हजार सात सय ७४ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी पुनले बताउनुभयो ।
कोषका पदाधीकारी, जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधीको राहबरमा गनेर सार्वजनिक गरिएको हो । कोषका अनुसार गत साउन महिना देखि यही फागुन १४ गतेसम्म पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु. ५१ लाख २२ हजार एक सय ५४ भेटि संकलन भएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटि पनि बढेको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कुल ५८ लाख ४० हजार पाँच सय १० भेटी संकलन भएको थियो । यस वर्ष नियमित रु. २५ लाख १५ हजार पाँच सय ४७ र मेलापर्वमा रु. २६ लाख छ हजार छ सय छ भेटि संकलन भएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।


मंसिरको बालाचर्तुदशीमा रु. छ लाख ६१ हजार दुई सय ९४ र साउन सोमबारको मेलामा रु. १५ लाख दश हजार सात सय २४ भेटि संकलन भएको थियो । अन्य शिर्षकमा रु. २१ लाख ४२ हजार पाँच सय २८ सहित कोषले साउन महिनादेखि हालसम्म कुल रु. ७२ लाख ६४ हजार छ सय ८२ आम्दानी भएको कोषका कार्यालय सचिव राम बानियाले बताउनुभयो ।
मन्दिरको आम्दानी कार्यालय, पुजा व्यवस्थापन, मन्दिरका पुुजारी, जेष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ ।
भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु. ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो ।
धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिंग, जडभरत, नटराज र लक्ष्मी नारायणको मुर्ति स्थापना लगायत भौतिक संरचना निर्माण भएका हुन् ।
कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथी अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ ।
हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा बिशेष मेला लाग्ने छ । दैनिक नित्य पुजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पुजाआजा गरेमा मनोकाक्षा हुुने धार्मिक विश्वास छ ।
