
बेनी, बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँच जनालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत, म्याग्दीले अनुमति दिएको छ ।
शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा माघ २० गते पक्राउ परेका उनिहरुलाई दोस्रो पटक म्याद थपका लागि प्रहरीले सोमबार अदालत पेश गरेको थियो ।
जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भोलाराज रेग्मीले उनिहरुलाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको बताउनुभयो । यसअघि पहिलो पटक तीन दिन र दोस्रो पटक माग २३ गते सात दिनको म्याद दिएको थियो ।


सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको वि.स. २०६५ मा खुलेको कुमारी सहकारीको रु. एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
सहकारीका पूर्व सञ्चालक समितिका उपाध्यक्ष रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, तत्कालिन व्यवस्थापक रुद्र गुरुङ, सञ्चालक समितिका पुर्व अध्यक्ष मन प्रसाद थजाली, थमबहादुर गर्वुजा र सञ्चालक देवी कुमारी थापा प्रहरीको हिरासतमा छन् ।
बेनी नगरपालिका–१ का ३६ वर्षीय थापा गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जिसस प्रमुखमा निर्वाचित हुनुभएको थियो । उनिहरुमाथी बचतकर्ताहरुको बचत रकम हिनामिना भएको सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । प्रहरीले सार्वजनिक सूचना जारी गरेर बचत कर्ताहरुलाई प्रमाण सहित सम्पर्कमा आउन अपिल गरेको छ ।
