
बेनी, म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुलाई सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय म्याग्दीले अपिल गरेको छ ।
सहकारीमा जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायत प्रमाणको सक्कल साथमा लिई सम्पर्कमा आउनका लागि प्रहरीले सार्वजनिक सूचना मार्फत अपिल गरेको हो ।
शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको पत्रको आधारमा अनुसन्धानका लागि प्रहरीले कुमारी सहकारीका पाँच जना सञ्चालक र ब्यवस्थापकलाई आइतबार पक्राउ गरेको थियो ।



प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले अनुसन्धानका लागि सहकारी रजिष्ट्ररको कार्यालयको छानविन प्रतिवेदन, संस्थामा रहेका कागजातको साथै थप प्रमाण जुटाउन बचतकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको बताउनुभयो ।
आर्थिक अपचलन गरेको आरोपमा माघ २० गते पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले बुधबार बेनी नगरपालिका–८ मा रहेको सहकारी संस्थाको कार्यालयलाई सिल गरेको छ । थप अनुसन्धान गर्न सहकारीको कार्यालय सिल गर्नुका साथै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइएको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।
सहकारीका पूर्व उपाध्यक्ष तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख बेनी नगरपालिका –१ रत्नेचौरका ३६ वर्षिय राजकुमार थापालगायत पाँच जनालाई आइतबार पक्राउ गरेको थियो । रघगुङ्गा गाउँपालिका–५ झिँका ६७ वर्षिय मनप्रसाद थजाली, अन्नपुर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षिय थमबहादुर गर्बुजा, पर्वत लेखफाँटका ५३ वर्षिय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्नेचौरकी ४९ वर्षिय देवी कुमारी थापा पनि प्रहरीको हिरासतमा छन् ।
पहिलो पटक आइतबार तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले बुधबार पुनः जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जनाएको छ । बचतकर्ताहरुको बचत रकम हिनामिना भएको सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको वि.स. २०६५ मा खुलेको कुमारी सहकारीको रु. एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
