
बेनी, ः खबरदारी सभालाई सम्बोधन गर्न बेनी आउनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० घण्टा म्याग्दीमा बिताउनुभयो ।
सोमबार साँझ करिब ८ बजे बेनी भित्रिएर पर्वत बेनीको ज्ञानगौरी होटलमा बास बस्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्ड जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा भएको सभालाई सम्बोधन गरेर दिउँसो ३ बजे बागलुङतर्फ लाग्नुभएको हो ।
जिल्ला भित्र्एदेखि छाड्ने बेलासम्म सुतेको बाहेकको समय प्रचण्ड भेटघाट र कार्यक्रममा व्यस्त रहनुभएको थियो । जिल्ला भित्र्ने बित्तिकै ज्ञानगौरी होटलको सभाहलमा नेता र कार्यकर्ताहरुसँग परिचय गर्नुभएका प्रचण्ड साँझ म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका जिल्ला तहका नेताहरुसँग करिब डेढघण्टा बिताउनुभयो ।

नेताहरुले जिल्लामा पार्टीका राजनीतिक गतिबिधि, विकास निर्माणको अवस्था, आफ्ना जनप्रतिनिधीले गरेका काम, नीतिगत र सामाजिक विषयमा गर्नुपर्ने काम, योजना र समस्याका विषयमा प्रचण्डलाई ब्रिफिङ गरेका थिए । नेताहरुको ब्रिफिङ र गुनासो सुनेर बस्नुभएका प्रचण्डले कुनै प्रतिक्रिया भने दिनुभएन् ।

मंगलबार बिहानै ६ बजे बेनीबाट गाडीमा सिंगामा पुगेका प्रचण्ड हरियाली चोक देखि फापरखेतको पहिरो, मंगला गाउँपालिकाको पखेर, मसार, उपल्लो तातोपानी बजार हुदै तातोपानी कुण्डको कार्यालयमा पुग्नुभयो । बेनी–दरवाङ सडकमा यात्राका क्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र वडा अध्यक्ष अणबहादुर खड्काले ठाउँ ठाउँमा ब्रिफिङ गर्नुभयो ।
ठूलोखोलामा सहिद परिवारसँग भेटघाट गर्नुभयो । सिंगा तातोपानी कुण्ड निरिक्षण र व्यवस्थापन समितिका पदाधीकारीहरुको कुरा सुनेर प्रचण्ड सिंगातर्फ फर्कनुभयो । वडा कार्यालयमा स्थानीयबासी र वडाका जनप्रतिनिधीहरुसँग भेटघाट गरेर म्याग्दी नदीको झोलुङ्गे पुल तरेर हरियाली ग्रुपले सञ्चालन गरेको कृषि फार्म हेर्न आँगेबगर पुग्नुभयो ।

आँगेबगर देखि हिडेर तल्लो सिंगा हुदै हरियालीको सिंगामा रहेको कार्यालयमा पुग्ने क्रममा स्थानीयबासीले प्रचण्डलाई फुल मालाले स्वागत गरेका थिए । त्यहाँ प्रचण्डले फापरको रोटी र कफि पिउनुभयो । कफी पिउदै कार्यकर्ता र सर्वसाधारणले प्रचण्डसँग फोटो खिचाए । हरेकजसो जिल्ला भ्रमणमा जाँदा प्रचण्ड मर्निङ वाकसँगै घरदैलो, सहिद परिवार भेटघाट र विकास आयोजनाहरु निरिक्षण गर्न छुटाउनुभएको छैन् ।
आफ्नो जिल्ला भ्रमणका क्रममा सुरु गरेको मर्निङमा हुने भेटघाट र अनुगमनलाई जनतासँग जोडिने, उनिहरुको अवस्था समस्या बुझ्ने, गुनासा सुन्ने गर्नुभएका प्रचण्डले अन्य नेताहरुलाई पनि जनतासँग जोडिन सन्देश दिन खोजेको देखिन्छ ।
हरियाली चोकबाट गाडी चढेर बेनी हुदै ज्ञानगौरी होटल पुग्दा त्यहाँ प्रचण्डलाई भेट्ने नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । सिंगामा पनि सहिद परिवारसँग भेटघाट गर्नुभएको थियो । पर्वत बेनी जाने क्रममा बेनीको हिलसाइडमा रहेको सहिद मदन केसीको घरमा पुगेर आफन्तलाई भेटघाट गर्नुभयो ।
म्याग्दीको साथै पर्वतको जलजला र बागलुङबाट जनप्रतिनिधी, नेता तथा कार्यकर्ताहरु प्रचण्डलाई भेट्न ज्ञानगौरी होटलमा आएका थिए । नेता कार्यकर्ताहरु मात्र नभएर सर्वसाधारणहरुले पनि प्रचण्डलाई भेटे, हात मिलाए र फोटो खिचाए ।
करिब साढे १२ बजे सुरु भएको खबरदारी सभामा तीन बजेसम्म बसेर प्रचण्ड बागलुङतर्फ जानुभएको थियो । बागलुङमा स्नेहमिलन कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रचण्डले कुश्मामा रहेको पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको थियो ।
शान्ति प्रक्रीयामा आएपछि माओवादीका अध्यक्ष प्रचण्ड चौथो पटक म्याग्दी आउनुभएको हो । यसअघि वि.स. २०७० कात्तिकमा चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड बेनीमा आउनुभएको थियो ।
वि.स. २०७५ मा श्रीमति सिता दाहाललाई तातोपानी कुण्डमा स्नानका लागि म्याग्दी आएका प्रचण्ड त्यसबेला चार दिन यहाँ बिताउनु भएको थियो । प्रचण्ड र तत्कालिन गृहमन्त्री रामबहादुर थापा (बादल)ले तातोपानी कुण्डमा स्नान गरेपछि तातोपानीको चर्चा भएको थियो । त्यसपछि नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवा र अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल पनि तातोपानी कुण्डमा स्नान गर्नुभएको थियो ।
शिर्ष नेताहरुको म्याग्दीमा उपस्थिति र आगमन बढ्नुलाई राजनीतिकका साथै विकासका मुद्दामा उनिहरुको ध्यानाकृष्ट हुने अपेक्षा गरिएको छ । यसअघि गत महिना आठौ म्याग्दी महोत्सव उद्घाटनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा म्याग्दीमा आउनु भएको थियो ।
