बेनी, । म्याग्दीको बेनी नगरपालिकाका एक हजार आठ सय ६८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
बेनीमा शुक्रबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २९ गतेसम्म बेनी नगरपालिकामा एचपिभी खोप लगाउन लागिएको जानकारी गराइएको थियो ।
बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले १० वटै वडाका सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ६ देखि १० सम्मका एक हजार आठ सय ४७ जना छात्रा र विद्यालय नजाने २१ ज्ना १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई यो खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
२८ वटा विद्यालय र आठ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र बनाएर खोप लगाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ । विश्वमा वार्षिक साढे पाँच लाख महिला प्रभावित हुने पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रतिवर्ष एक हजार तीन सय १३ जनाले ज्यान गुमाउने गरेका जनस्वास्थ्य अधिकृत सुवेदीले बताउनुभयो ।
एचपिभी खोप लगाएपछि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने उहाँले बताउनुभयो । समयमै खोप ढुवानी, प्रचारप्रसार, समन्वय र लक्षित समुदायका सबैलाई खोप लगाउन कार्ययोजना बनाइएको छ ।
असुरक्षित यौन सम्पर्क पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएको स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले बताउनुभयो । उहाँले एचपिभी खोप कार्यक्रमलाई सफल बनाउन म्याग्दीका सबै स्थानीय तहहरुसँग समन्वय गरेको बताउनुभयो । जिल्लाभर माघ २२ देखि २९ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले एचपिभी खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरुलाई निर्देशन दिनुभयो । नगर उपप्रमुख ज्योती लामिछानेले पाठेघरको मुखको क्यान्सरका बिरामी पहिचान गर्ने शिविरलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सुरक्षित रुपमा लक्षित किशोरीहरुलाई खोप लगाउन, खोपको विषयमा रहेको नकारात्मक धारणा तथा गलत प्रचार र भ्रम न्युनीकरण गरेर अभियान सफल बनाउनुपर्ने बताउनुभयो ।