बेनी, ः रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।
रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खा याममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङगले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए ।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)का अनुुसार यही माघ ३ गते बिहिबार उद्घाटन भएको इकाईबाट नामिला र आसपासको गाउँका करिब एक सय घरधुरी लाभान्वित भएका छन् ।
एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ । एक जना अनमीले इकाईबाट सेवा दिने ब्यवस्था मिलाइएको छ । स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोप सम्बन्धी सेवा दिइने वडा अध्यक्ष पाईजाले बताउनुुभयो ।
आमा समुहको भवनको कोठामा इकाई स्थापना गरिएको छ । इकाईको रघुुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीको पनि उपस्थिति थियो । यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको थियो ।
नामिला, पात्ले सहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ । वडा स्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा इकाई स्थापना गरेर सेवा विस्तार गरिएको गाउपालिकाको अध्यक्ष भण्डारीले बताउनुभयो ।