रत्नेचौरको तोरीबारीमा मौलिक पोशाक लगाएर फोटो खिच्ने र भिडियो बनाउनेको क्रेज

Gandaki Kotihome

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बासिन्दाले तोरीबारी घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोषाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।

तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सौन्दर्यमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्रह्माण लगायत जातजातीको पोशाक लगाएर तस्विर, भिडियो खिच्ने गर्दछन् । पर्यटकहरुलाई जातजातीको मौलिक पोषाक भाडामा लगाएर स्थानीयले आम्दानी गरेका हुन् ।

रत्नेचौरका ब्यवसायी रामकृष्ण पुनले एक जोडा पोशाक एक घण्टा प्रयोग गरेवापत रु. दुई सय देखि तीन सय ५० शूल्क लिने गरेको बताउनुभयो । “मसँग १५ जोड मगर ड्रेस छन,” उहाँले भन्नुभयो “दिनमा १० देखि १५ जनाले भाडामा लिनुहुन्छ ।” रेष्टुरेन्ट सञ्चालक समेत रहेका थापाले पर्यटकको तस्विर खिचिदिने पनि गर्नुभएको छ । एक वटा तस्विर खिचे वापत रु. २० शूल्क लिने गरेको थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news

रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेष्टरेन्ट तथा पसलहरुले पनि जातिय पोशाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोशाक पर्यटकहरुको रोजाईमा परेको हो । बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोशाकमा सजिएर खिचेको तस्विर र बनाएको भिडियो स्मरणयोग्य भएको बताउनुभयो ।

“तोरी र गहुँ खेती भएको फाँटको बिचमा रहेको पिच सडकमा मगर पोशाक लगाएर खिचेको फोटो र भिडियो आकर्षक देखियो,” उहाँले भन्नुभयो “पृष्ठभूमिको धौलागिरि हिमाल र वरपरका मौलिक घरहरुले यहाँको दृष्यलाई क्यान्भासजस्तै बनाएको छ ।”

Notice about ban dadalo

केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ ।

कात्तिक–मङ्सिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खानका लागि यहाँ पर्यटकको भीड लाग्ने गरेको वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।

सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको रत्नेचौरको तोरी बारीमा रमाउँदै टिकटक र भिडियो बनाउन आउनेहरुको चहलपहल छ । दैनिक तीन सय देखि पाँच सय जना आउने गरेका स्थानीय कुशल शर्माले बताउनुभयो ।

उत्तरतिर हेर्दा चाँदीझैँ टल्किने सेता हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् । अहिले पहेँलपुर तोरीबारीले रत्नेचौर झकिझकाउ बनेको छ । उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको बागलुङबाट आएकी संगिता थापाले बताउनुभयो ।

रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने तीनसय ८८ मिटर लामो झोलुङ्गे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण बनेको छ । वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धवलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको छ ।

default
Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...