बेनी ः म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायको ठूलो पर्व माघे संक्रान्ति पर्वको रौनक छाएको छ ।
म्याग्दीमा बाहूल्य बसोबास रहेको मगर समुदायले माघे र साउने संक्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पंख्यक छन्त्याल समुदायको सबैभन्दा ठूलो पर्व पनि माघे संक्रान्ति हो ।
साउन संक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा शुरु भएको दिनका रुपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको मगर संघ म्याग्दीका सचिव खम थापामगरले बताउनुभयो ।
“माघे संक्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठा मिठा परिकार खुवाउने चलन छ,” उहाँले भन्नुभयो “प्रकृतिका पुजारी मगर समुदायले साउने संक्रान्तिलाई हिउँद र माघलाई बर्खा शुरु भएको दिनका रुपमा मान्ने गर्दछन् ।”
माघे संक्रान्तिमा चेलीबेटीलाई घरमा बोलाएर मिठा परिकार पकाएर खुवाउने चलन छ । माघे देखि बर्षा र साउन देखि हिउद शुरु भएको मानिन्छ । माघे संक्रान्ति पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रुपमा लिएका छन् ।
प्रायजसो मगर बस्तिमा माघे र साउने संक्रान्तिमा भेला भएर नाचगान गर्ने चलन पनि छ । पुरख्यौली नृत्य देखाउने र रमाईलो गर्ने चलन छन् । चेलीबेटीहरु तरुल र सेलरोटी, फलफुल लिएर माघे संक्रान्तिमा माइति भेट्न जान्छन् ।
माघे संक्रान्ति पर्व मनाउन सहर बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किएका छन् । अस्टे«लीयाबाट माघे संक्रान्ति पर्व मनाउन परिवार सहित जन्मथलो आउनुभएका मङ्गला गाउँपालिका–१ तुसारेपानीका मुक्ति रोकाले चाडपर्वले आफन्तजन र साथीभाईसँग भेटघाट हुने अवसर जुुराएको बताउनुभयो ।
माघे संक्रान्ति पर्वको अवसरमा तुसारेपानीमा खेलकुुद तथा सांस्कृतिक मेला पनि आयोजना भएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गर्दथ्यो ।
सामान खरिद बिक्री, आफन्त र साथीभाई भेटघाट देखि तन्नेरीहरुको जमघटको लागि बेनीको माघे संक्रान्ति मेला त्यसबेला चर्चित थियो । म्याग्दी उद्योग वाणिज्य संघका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरु बेनीको माघे संक्रान्ति मेलामा ल्याउने गर्दथे ।
माघे संक्रान्ति पर्वका दिन बेनी स्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेलानै कुर्नुपर्दथ्यो । बेनीमा माघे संक्रान्तिको मेला किनमेलको माध्यम थियो,” ८० वर्ष पार गरेका श्रेष्ठले बाल्यकाल र किशोरअवस्थाको सम्झना गर्नुभयो “तन्नेरीहरु ठेला हान्ने, लठ्ठो तानेर बहादुरी तथा दोहोरी गित गाएर कला देखाउने गर्दथे ।”
समय, परिवेश र जिवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने माघे संक्रान्ति मेलाको पनि स्वरुप फेरिएको छ । मेला र महोत्सव आयोजना गरेर माघे संक्रान्ति र बेनी बजारमा लाग्ने मेलालाई संरक्षण तथा निरन्तरता पाएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघले हरेक तीन÷तीन वर्षमा महोत्सव आयोजना गर्छ । संघ अन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुँदाको वर्ष माघे संक्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यसपाली आइतबारदेखि बेनीमा आठौ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला शुरु भएको थियो ।
परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ ८ गतेसम्म चल्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुुविन श्रेष्ठले बताउनुभयो ।