बेनी, नेपाली काँग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले प्राकृतिक स्रोत साधनको समूचित प्रयोगबाटै नेपालको आर्थिक विकास र सम्बृद्धि देश बनाउन सकिने बताउनु भएको छ ।
बेनीमा आइतबारदेखि शुरु भएको आठौ म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१को उद्घाटन गर्नुहुदै देउवाले जल, जमिन र जङगलको प्रशस्त सम्भावना रहेको नेपालमा तीनै प्राकृतिक स्रोत साधनको उचित ब्यवस्थापन गरेर रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने बताउनुभयो ।
“प्राकृतिक स्रोत साधनको ब्यवस्थापनका लागि नीजि क्षेत्रलाई सहभागी बनाउन नीति नियम बनाउन राजनीतिक रुपमा प्रयास भएको छ,” उहाँले भन्नुभयो “लगानीमैत्री वातावरण बनाएर उद्योग ब्यवसायलाई घरासायी हुनबाट बचाउन नीतिगत सुधारको काम थालेका छौ ।”
उद्योगी, ब्यवसायीको पिरमर्का सम्बोधन गर्न र हकहितका लागि नेपाली काँग्रेस सँधै साथमा रहने प्रतिवद्धता जनाउनुभयो । फरक प्रशंगमा देउवाले म्याग्दी हुदै ढोरपाटन जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक सडक आयोजनाको रुपमा विकास गराउन बजेट ब्यवस्थापन गर्न सम्बद्ध मन्त्रालयमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बेनीको खुल्ला मञ्च खेलमैदानलाई स्तरोन्नति गर्ने, बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माणलाई पूर्णता दिने, मालढुङ्गा–बेनी लगायत सडक आयोजनालाई गति दिने, बेनी बजार संरक्षणका कामलाई बजेट ब्यवस्था गर्न पहल गर्ने देउवाले प्रतिवद्धता जनाउनुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सव आयोजना गरिएको हो । चिन र भारतको ब्यापारिक प्राचिन रेशमी मार्ग र ‘साल्ट टे«ड रुट’को रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख ब्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
१० दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने र रु. दश करोड बराबरको ब्यापारिक कारोबार हुने अनुमान गरिएको छ । म्याग्दीको पर्यटन, कृषि, जलविद्युत, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रर्वद्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गित, कलाकारहरुको प्रस्तुति महोत्सवका आकर्षक रहने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । पुख्र्योली नाच, रत्यौली गित, भजन, म्याग्दी आईडल एकल लोकनृत्य, जतजातीको भाँकी प्रर्दशनी पनि आयोजना गरिएको छ ।