बेनी । बेनीमा आगामी आइतबारदेखि शुरु हुन लागेको आठौ म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा महोत्सव सञ्चालन हुन लागेको हो । माघ ८ गतेसम्म बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने महोत्सवको ८० प्रतिशत तयारी सकिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।
सबै दुई ३० वटै स्टलहरु बुकिङ भइसकेको, ब्यापारिहरु सामान लिएर आउन थालेका र स्टल निर्माणको काम धमाधम भैरहेको उहाँले बताउनुभयो । ब्यवसायिक प्रयोजनका लागि ६४ वटा, होटल÷रेष्टुरेन्टतर्फ २३ वटा होटलले ९२ वटा स्टल बुकिङ गरेका छन् ।
केही स्टल प्रायोजक, सहयोगी, स्थानीय सरकार र संघ संस्थाका लागि निःशूल्क उपलब्ध गराइनेछ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्ने तय भएको बताउनुभयो ।
प्रायोजक र दाताहरुबाट अपेक्षिक सहयोग जुटेको उहाँले बताउनुभयो । केही जुट्ने क्रममा रहेको छ । स्टल ब्यवस्थापन, मञ्च सजावट, कलाकारलाई निमन्त्रणा, झाँकी तथा खेलकुदका कार्यक्रम तय भइ सोही अनुसारको तयारी अन्तिम चरणमा पुगेको छ । टोल टोलमा ध्वजा पटकाले सजाउन थालिएको छ ।
प्राचिन रेशमी उपमार्ग र साल्ट टे«ड रुटको रुपमा परिचित कालीगण्डकी करिडोरको एक प्रमुख ब्यापारिक केन्द्र बेनीको महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा एक लाख आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
बेनी–जोमसोम–कोरला सडक मार्ग निर्माणसँगै फेरिएको प्राचिन रेशमी मार्गको बदलिदो स्वरुप तथा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सम्झौताबाट कालीगण्डकी करिडोरमा लिन सकिने फाइदाबारे अवगत गराउनु पनि महोत्सवको उद्देश्य रहेको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठले दुई सय वर्ष पहिले बेनीमा चिन र भारत सम्मका मानिसहरु माघे संक्रान्ति मेलामा किनमेलका लागि आउने गर्दछे । सोही सिलसिलामा काठमाडौ उपत्यकाका नेवार समुदाय बेनीमा बसाई सरेर आएका र यहाँ बस्ति बसेको हुँदा बेनी र माघे संक्रान्ति मेलाको विशेष सांस्कृतिक महत्व रहेको बताउनुभयो ।
रु. दश करोड बराबरको ब्यापारिक कारोबार हुने महोत्सव सञ्चालनका लागि रु. एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ । सामानको खरिद बिक्री र मनोरञ्जनका लागि मात्र नभएर महोत्सवे म्याग्दीको समग्र सम्भावनाको उजागर भई लगानी भित्र्याउन तथा आर्थिक गतिबिधिलाई चलायमात्र बनाउने अपेक्षा गरिएको छ ।
म्याग्दीको पर्यटन, कृषि, जलविद्युत, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रर्वद्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ ।
स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोक दोहोरी गित, कलाकारहरुको प्रस्तुति महोत्सवको प्रमुख आकर्षण रहनेछन् । पुख्र्योली नाच, रत्यौली गित, भजन, म्याग्दी आईडल एकल लोकनृत्य, जाजाती, जनजाती झाँकी प्रर्दशनी पनि रहेका छन् ।
महोत्सवको अवसरमा आयोजना गरिने अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको बिजेतालाई रु. एक लाख ५१ हजार र उपबिजेतालाई रु. ७५ हजार एक सय पुरस्कारको ब्यवस्था गरिएको छ । लोक दोहोरी गित प्रतियोगितामा बिजेतालाई रु. एक लाख एक सय र उपबिजेतालाई रु. ६१ हजार एक सय पुरस्कार रहेको छ ।
महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषमा रु. दश लाख, विपद् राहत कोषमा रु. पाँच लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक संघ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसअघि बि.स. २०५८ देखि वि.स. २०७८ सम्म सात पटक म्याग्दी महोत्सव भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापुर्व कालदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो । परम्परागत माघे संक्रान्ति मेलाको निरन्तरता स्वरुप पछिल्लो समय महोत्सव सञ्चालन गरिएको संघले जनाएको छ ।