बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीमा रु. एक करोड भन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण शुरु भएको छ ।
ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु. एक करोड आठ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण शुरु भएको हो ।
यस आयोजनाबाट नारच्याङ बेशीगाउँका एक सय ९० घरपरिवारका आठ सय ४१ जनसंख्या लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । घरघरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने उहाँले बताउनुभयो ।
विद्यालय, स्वास्थ्य चौकी, युवा क्लव, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ । गोर्खा वेयलफेयरको रु. ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताहरुले रु. २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ ।
आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य सहित मुहान, टंकी, धारा र पाइपलाइन निर्माणको कामलाई तिब्रता दिएका छन् । यहाँका बासिन्दाले यसअघि सार्वजनिक धारा र निजी लगानीमा धाराबाट घरसम्म पाइप जोडेर खानेपानी उपभोग गर्दै आएका थिए ।
ब्रिटिस गोर्खा वयलफेयरको सहयोगमा वि.स. २०८१ मा अन्नपूर्ण–४ को छेम्दीमा निर्माण भएको खानेपानी आयोजनाबाट ७२ र वि.स. २०८१ मा पटारमा निर्माण भएको आयोजनाबाट २९ घरपरिवार लाभान्वित भएका छन् ।