बेनी, ः नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन (अनन्त्)ले माओवादी सरकार बनाउने र भत्काउने गणितीय खेलमा नरहेको स्पष्ट पार्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा पुर्वमन्त्री समेत रहेका नेता पुनले सरकार भन्दा पनि जनताका समस्या र राष्ट्रिय हितका मुद्दा उठाएर वि.स. २०८४ को निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताउनुभयो ।
“हामीले अतिकती बल गर्ने हो भने यो सरकार रहदैन, तर हामी गणितीय खेलमा लागेर सरकार बनाउने, भत्काउने खेलमा छैनौ,” उहाँले भन्नुभयो “सुसासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दालाई लिएर जनतामाझ जान्छौ र जनमतबाट अनुमोदित भएर सरकारको नेतृत्व गर्ने पहिचान बनाउछौ ।”
माओवादीको नेतृत्वका सरकारले आर्थिक सम्बृद्धि, सुसाशन र सामाजिक न्यायको पक्षमा गरेका कारण सरकार बाहिर रहदाँ पनि माओवादीको जनमत बढेको पुनले दावी गर्नुभयो । हालै भएको स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघको निर्वाचनमा माओवादी एक्लै प्रतिस्पर्धा गरेपनि विगतको तुलनामा राम्रो उपलब्धी हासिल हुनुलाई जनमत बढेको आधारका रुपमा लिएको उहाँले बताउनुभयो ।
“माओवादीले सरकारमा रहदाँ मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण कोरिडोर, लोडसेडिङको अन्त्य, किसानको ऋण मिनाह, सुसाशन र सामाजिक न्यायको पक्षमा गरेका थुप्रै कामको जनताले मूल्याङ्कन गर्न थालेका छन्,” उहाँले भन्नुभयो “माओवादीले आफ्नो फरक राजनीतिक पहिचान बनाएर वैकल्पिक शक्तिको रुपमा स्थापित हुन्छ । २०८४ को स्थानीय तह, प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्छौ ।”
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा देखिएका विकृति र विसंगतिलाई सुधार गरेर समाजवादी गणतन्त्रको राजनीतिक लक्ष्य हाँसिल गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई एकतावद्ध हुन, समाज र सरकारका गलत क्रियाकलापको विरुद्ध खवरदारी गर्न निर्देशन दिनुभयो ।
लोकतन्त्रको ‘सर्भिसिङ र रिफाइन’ गर्नुपर्ने नेता पुनको भनाई थियो । फरक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको चिन भ्रमणका क्रममा भएको बिआरआई परियोजना कार्यान्वयनका लागि भएको सम्झौताको स्वागत गर्दै त्यसलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गर्नुभयो ।
आफू उर्जा, जलस्रोत तथा सिचाई मन्त्री हुँदा कालीगण्डकी र कालीगण्डकी नदी कटानको जोखिममा रहेको बेनीमा सञ्चालित संरक्षण आयोजनाका लागि आयोजना शुरुवात गराएको बताउदै त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो ।