म्याग्दीको मुनामा संकटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो

Gandaki Ghumau

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुुनाको बञ्चरेडाडा जङगलमा संकटापन्न जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।

समुन्द्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धवलागिरी गाउँपालिका जनप्रतिनिधी र कर्मचारीहरुको टोलीले समुुन्द्रि सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुुन् ।

धवलागिरी गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुुनले रेडपाण्डाको तस्विर र भिडियो खिचेर वन प्राविधिकहरुलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गर्नुभएको थियो । साविक मुना गाविसको जङगलमा पहिलो पटक रेडपाण्डा भेटिएको स्थानीयबासी समेत रहेका पुनले बताउनुभयो ।

Shreekrishna

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद अधिकारीले बञ्चेडाडामा भेटिएको उक्त जनावर रेडपाण्डा भएको पुुष्टि गर्नुभयो । “भिडियो र तस्विरका साथै त्यहाँ भेटिएको दिसाका आधारमा म्याग्दीको धवलागिरी क्षेत्रमा रेडपाण्डाको बासस्थान रहेको पुुष्टि भएको छ,” उहाँले भन्नुभयो “रेडपाण्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनाहरुमा कार्यक्रम प्रस्ताव गर्छौ ।”

वि.स. २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालका अनुुसार यसअघि रेडपाण्डाको बासस्थान फेला पारेपनि प्रत्यक्ष देखिएको थिएन् ।

“आठ वर्षअघि लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन,” उहाँले भन्नुभयो “संरक्षणका लागि जनचेतनामुलक कार्यक्रमको प्रभावका कारण रेडपाण्डाको संख्या वृद्धि भएर देखिन थालेका हुन् ।”

Gunasthariya Shiksya

रेडपाण्डाका वासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला बन कार्यालय तथा स्थानीयबासीसँगको सहकार्यमा गूर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रम सहित रेडपाण्डाको महत्वका बारेमा जानकारी गराइएको थियो ।

रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसा लगायत झारपात खान भुईँमा झर्नेे रेडपाण्डाको महत्वका बारेमा जानकारी पाएपछि समुदाय स्तरमा पनि संरक्षणमा चासो बढेको छ ।

गुर्जा, लुलाङ र मुनाको जंगलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धवलागिरी गाउँपालिकाको गुर्जा, लुुलाङ र मुुदीमा हाब्रेको बासस्थानको विषयमा अध्ययन भएको थियो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा डिभिजन वन कार्यालय र संघ संस्थाहरुसँग समन्वय गरेर सचेतनामूलक अभियान सञ्चालन गरिने बताउनुुभयो । “रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौ,” उहाँले भन्नुुभयो “रेडपाण्डा अवलोकनका लागि पर्यटक भित्र्याउने सम्भावना पनि छ ।”

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जंगलमा पर्याप्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो ।

रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु. एक लाखदेखि रु. पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

पछिल्लो अध्ययन अनुसार हाब्रेको संख्या नेपालमा पाँच सय देखि एक हजार वटा रहेको अनुमान गरिएपनी दुई सय ३७ वटाको मात्र एकिन भएको छ । विश्वमा नेपाल, चिन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...