बेनी, ः भारत र चिनलाई जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न थालिएको छ ।
पर्वतको मालढुङ्गा देखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने १३ किलोमिटर सडकको प्रवेशबिन्दुमा पर्ने कुश्मा नगरपालिका –१ माझीबस्ती देखि जलजला गाउँपालिका–८ लस्ति सम्मको खण्डमा एक्सफाल्ट प्रबिधिको कालोपत्र गर्न शुरु भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सव–ईञ्जिनियर सोहनजंग कार्कीले माझीबस्तिदेखि डमुवाखोलासम्म शुक्रबार र शनिबार छ सय मिटर दुरीमा प्राइम कोट (बिटुमीन) बिछ्याएको र लस्तिसम्म थप तीन किलोमिटर कालोपत्रको लागि तयार भएको जानकारी दिनुभयो ।
१३ किलोमिटर दुरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच वि.स. २०७७ चैतमा रु. ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
यस खण्डको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर बिष्णु चापागाईले बताउनुभयो । विभिन्न ठाउँमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ ।
वि.स. २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्य भन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकोमा स्थानीयबासी उत्साही भएका जलजला गाउँपालिका–४ का वडा अध्यक्ष भरत क्षेत्रीले बताउनुभयो । सडक निर्माणलाई गति दिन जनप्रतिनिधी, उद्योगी ब्यवसायी र सरोकारवालाहरुले दवाव दिदै आएका छन् ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।