शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविको शनिबार ७० औ वार्षिकोत्सव मनाइएको छ ।
स्थापना दिवसको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण, राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई सम्मान, पुरस्कृत र बालविकास केन्द्रको लागि अक्षयकोष स्थापना भएको छ ।
कोषमा शिक्षक अभिभावक संघका अध्यक्ष गणेश गुरुङ (सुरेन)को परिवारको तर्फबाट रु. ५० हजार सहयोग घोषणा गरेर अभियान शुरु गरिएको छ । स्थानीय स्रोतका शिक्षकको तलबका लागि इन्द्रे शेरचनले १५ हजार, भविन गुरुङले रु. १५ हजार र पुर्व शिक्षक बेलबहादुर तिलिजाले रु. दश हजार सहयोग गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रअ जगदिश आचार्यले स्थानीय स्रोतका शिक्षकको लागि एक महिनाको पेन्सन र छात्रावासको खाना, खाजाका लागि रु. दश हजार सहयोग गर्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बागबिर पाईजाको अध्यक्षता, शिक्षक खेम पाईजा र सुदर्शन रन्तिजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ केदार कार्कीले विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।