सुन्तला झर्न थालेपछि किसान चिन्तित

khali

बेनी, ः बजार पठाउने समयमा बोटबाटै सुन्तला झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

सुन्तला म्याग्दीको प्रमुख फलफुल बाली हो । बोटमै दानाभित्र किरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको हो । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दिप खत्रीले बताउनुभयो । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ ।

“बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्,” वडा सदस्य समेत रहेका खत्रीले भन्नुभयो “बोटमा राम्रो फल लागेपनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ ।”

Shreekrishna hardwear in news

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक बासुदेव रेग्मीको नेतृत्वमा केही दिन अघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमुना संकलन गरेर परिक्षणका लागि लगेका छन् ।

khali

प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । “दानाभित्र औसा परेर सुन्तला झरेको छ,” उहाँले भन्नुभयो “सुर्यपुतलीको शंका लागेर परिक्षण गर्न पठाएका हौ । प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ ।”

बास्कुनाको छिमेकी बेनपा–३ मरेक र मङ्गला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन् । प्राविधिकहरुले झरेका सुन्तलाका दानालाई पलास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन् । सुर्यपुतली नियन्त्रण गर्न बगैचामा टाइट ट्याप (पासो) थाप्न र धुवा बनाउन प्राबिधिकले सुझाएका छन् ।

दुई सय बोटको बगैचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दिर्घबहादुर खत्रीले बताउनुभयो । बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । गत वर्ष सो ठाउँबाट रु. ७५ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको थियो ।

धादिङबाट आएका ब्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगैचा ठेक्कामा किनेका छन् । ब्यापारी कान्छाराम तामाङले सुन्तलामा रंग र गुलीयो पसेकाले टिपेर बजार पठाउन थालिएको बताउनुभयो । म्याग्दीको सुन्तला पोखरा, काठमाडौ, चितवन, बिराटनगर र बुटवलमा पठाउने गरिएको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा रु. २१ करोड मूल्य बराबरको तीन हजार छ सय मेट्रिकटन सुन्तला बिक्री भएको थियो । म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तला खेती गरिएकोमा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ । यस वर्ष क्रप कटिङ बिधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गर्ने तयारी गरेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामीछानेले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...