बेनी, ः म्याग्दीको पश्चिमी क्षेत्रका यात्रुहरुलाई लक्षित गरेर मंगलबार देखि दरवाङ–काठमाडौ एसी सहितको डिलक्स बस सेवा शुरु हुने भएको छ ।
म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लीले जिल्ला सदरमुकाम बेनी देखि २४ किलोमिटर पश्चिममा रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि बेनी, पोखरा हुदै काठमाडौ बस सेवा शुरु गर्न लागेको हो ।
कम्पनीका सञ्चालक विजय थापाले हरेक दिन साँझ ४.३० बजे दरवाङ र काठमाडौदेखि रात्री बस छुटाइने जानकारी दिनुभयो । दरवाङबाट लामो दुरिमा डिलस्क रात्रीबस शुरु भएपछि धवलागिरी, मालिका र मङ्गला गाउँपालिकाका बासिन्दाहरु लाभान्वित हुनेछन् ।
लामो दुरीमा एसी डिलक्स बस चढ्नका लागि बेनी आउनुपर्ने बाध्यता हट्नेछ । दरवाङ देखि काठमाडौको प्रतियात्रु भाडा एक हजार छ सय ५० कायम गरिएको सञ्चालक थापाले बताउनुभयो ।
बेनी देखि मङ्गला गाउँपालिकाको पानाबगरसम्म १७ किलोमिटर सडक कालोपत्र भएको छ । पानाबगर देखि दरवाङ सडक कालोपत्र योजनालाई छिटो पूर्णता दिन यातायात ब्यवसायीले माग गरेका छन् ।
फापरखेत, पानाबगर र बाङ्गेपहिरोमा पहिरो पन्छाएर ठूला सवारी साधन आवत जावत हुने बनाइएको छ । पहिरोको दिर्घकालिन समाधान गरेर नियमित यातायात सञ्चालनको ब्यवस्था मिलाउन यातायात ब्यवसायीहरुले माग गरेका छन् ।