बेनी, स्तरोन्नतिका लागि बेनी–मालढुङ्गा सडक मंसिर ४ देखि ११ गतेसम्म दैनिक छ घण्टा बन्द हुने भएको छ ।
सडकको प्रवेशबिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गा देखि लस्ति सम्म कालोपत्र गर्न प्राइम कोट बिछ्याउन सवारी साधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधी, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधीको बैठकले यही मङसिर ४ देखि ११ गतेसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी साधन आवत जावत रोकेर निर्माण कार्य गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
“सवारी साधनको चापका कारण निर्माण कार्य गर्न प्रभावित भएकाले समयतालिका बनाइएको हो,” उहाँले भन्नुभयो “सडक फराकिलो बनाउन किनारामा रहेको ठुलो ढुङ्गा फुटाउन, सबबेस र बेस राखेको मालढुङ्गा–लस्ति खण्डको चार किलोमिटर दुरीमा प्राइम कोट बिछ्याउन लागिएको छ ।”
मालढुङ्गा–बेनी सडक अवरुद्ध हुँदा मालढुङ्गा–बागलुङ–बेनी बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईले बताउनुभयो । एम्बुलेन्स, दमकल र शववहान सञ्चालनमा भने सहजिकरण गरिने आयोजनाले जनाएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ ।
१३ किलोमिटर दुरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच वि.स. २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।