म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् ।
प्रवासमा रहेका दानावासीहरु आवद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा शिविर सञ्चालन भएको थियो । शिविरमा चार सय ८३ जनाले आँखा परिक्षण, परामर्श, चश्मा, भोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निशूल्क औषधी प्राप्त गरेका अन्नपूर्ण–३ दानाका वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो ।
३४ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको उहाँले बताउनुभयो । दाना, नारच्याङ, भुरुङ्ग–तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाहरुले पनि शिविरबाट सेवा लिनुभएको थियो ।
शिविरमा भैरहवाको कृष्ण नेत्रालय प्रालिकी डा.सल्मा केसी, विद्यालयकै पूर्व विद्यार्थी डा.सुमिन्द्रा पुन सहितको टोलीले सेवा दिनुभएको थियो । दाना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले पनि सघाएका थिए ।
गाउँमै आँखा उपचार सम्बन्धी सेवा पाउँदा पैसा र समयको बचतका साथै सहज भएको छ । फ्रेन्डली ब्रदर्श दाना सेरोफेरोले ज्ञानप्रकाश माविमा भौतिक पूर्वाधार सहित अक्षयकोष, छात्राबृद्धि सहित रु. एक करोडभन्दा बढी सहयोग गरेको छ ।