बेनी, १५ कात्तिक ः पश्मिनाको कच्चा पदार्थको रुपमा प्रयोग हुने च्याङग्राको भुवा आयात घटाउन उद्योगीहरुले डोल्पामा स्रोतको पहिचान गरेका छन् ।
डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहिबार काठमाडौ फर्किएको नेपाल पश्मिना उद्योग संघको टोलीले म्याग्दीको बेनीमा पत्रकारहरुसँगको भेटघाटका क्रममा त्यहाँ पनि संकलन केन्द्र बनाएर भुवा लैजाने तयारी गरेको जानकारी दिए ।
संघका अध्यक्ष धनप्रसाद लामिछानेले छार्काताङसेनमा पालिएका च्याङग्राको भुवालाई पश्मिनाको कच्चा पदार्थका रुपमा प्रयोग गर्ने उद्देश्यले स्थलगत भ्रमण, किसानहरुसँग छलफल र नमुना संकलन गरिएको जानकारी दिनुभयो ।
“डोल्पामा प्रशस्त च्याङग्रापालन भएपनि बजार नपाउने नभएकाले धेरै कृषकले भुवा निकाल्ने गरेका छैनन् । निकालेको भुवा पनि चिनीया बजारमा जाने गरेको छ,” उहाँले भन्नुभयो “पछिल्लो तीन वर्षयता मुस्ताङबाट भुवा संकलन गरेर लैजादै आएका छौ । डोल्पाको पनि भुवा थपियो भने कच्चा पदार्थको आयात कम हुन्छ ।”
डोल्पामा भुवाको सम्भाव्यता अध्ययनका लागि अध्यक्ष लामिछानेको नेतृत्वमा संघका सचिव गिता श्रेष्ठ, कार्यकारी निर्देशक सुजाता भट्ट, सल्लाहकार भिम शेरचन, उद्योगी किन्चु श्रेष्ठ र नेपाल फाइवर प्रोसेसिङ प्रा.ली.का सञ्चालक छिरिङ वाङदी गुरुङको टोली छार्का गएको थियो ।
कात्तिक ८ गते जोमसोमबाट डोल्पा गएको टोलीले छार्काका च्याङग्रा फार्म अवलोकन, भुवाको नमुना संकलन र किसान र जनप्रतिनिधीहरुसँग छलफल गरेर फर्किएको हो । छार्काताङसेन गाउँपाकिलाका उपाध्यक्ष कर्मा डुण्ढुकले भुवाको बजार सुनिश्चित गर्न, संकलन गर्ने सिप र प्रविधी सिकाउन र संकलन केन्द्र बनाउन प्रस्ताव गर्नुभएको थियो ।
मुस्ताङ हुदै छार्का सडक सञ्जालमा जोडिन लागेको र बजार नजिक पर्ने भएकाले भुवा बिक्री गर्न पनि सजिलो हुने उहाँले बताउनुभयो । समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको छार्कामा करिब ८५ घरधुरीको बसोबास छ । एउटा घरमा दुई सय देखि सात सय सम्म च्याङग्रा पालिएको छ। छार्कामा डोल्पाका अन्य दुई वटा पालिकाको भूवा पनि संकलन गर्न सकिने सम्भावना छ ।
बैशाख–जेठ–असार महिना च्याङग्राको शरिरबाट भुवा निकाल्ने याम हो । बजारको सुनिश्चितता नभएकाले भुवा ननिकाल्ने भएकाले च्याङग्राको शरिरबाटै झरेर खेर जाने गरेको छार्काका किसान कुन्साङ नामग्यालले बताउनुभयो । भुवाले बजार पाएमा च्याङग्रापालक किसानले अतिरिक्त आम्दानी गर्न पाउने उहाँले बताउनुभयो ।
भुवाको नमुनाको गुणस्तर परिक्षण गरेपछि उपयुक्त देखिएमा किसानलाई भुवा संकलन गर्ने आधुनिक सिप सिकाउने, प्रविधी हस्तान्तरण गर्ने र संकलन केन्द्र स्थापना गरेर खरिद गरिने संघका सचिव गिता श्रेष्ठले बताउनुभयो ।
संघको समन्वयमा मुस्ताङबाट २०७९ मा रु. एक करोड ३४ लाख मूल्यको दुई हजार किलोग्राम, २०८० मा रु. ९० लाखको भुवा खरिद भएको थियो । यस वर्ष प्रतिकिलो रु. चार हजार पाँच सयका दरले एक हजार छ सय किलोग्राम भुवा खरिद गरेर लोमान्थाङको संकलन केन्द्रमा राखिएको छ ।
च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । डोल्पामा चौरीको भुवालाई पनि कच्चा पदार्थको रुपमा प्रयोग गर्न अध्ययन भएको छ । प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ ।
नेपालबाट निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपालबाट वार्षिक रु. ६.५ अर्बको पश्मिना निर्यात र रु. ३ अर्बको तयारी धागो आयात हुन्छ । बिदेशबाट कच्चा पदार्थ आयात घटाउन स्वदेशकै किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी किच्नु श्रेष्ठले बताउनुभयो ।