
बेनी ः महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औ जन्मजयन्तिको अवसरमा बिहिबार म्याग्दीको बेनीमा काब्य गोष्ठि भएको छ ।
म्याग्दी सामुदायिक पुस्तकालयको आयोजनामा काब्य गोष्ठिका साथै दुई वटा कृति बिमोचन गरिएको हो ।
बेनी नगरपालिका–६ का स्रष्टा हरिप्रसाद पौडेलको कविता सङग्रह संग्रह ‘परिस्थितिका उपजहरु’ र अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अमेसास)ले प्रकाशन गरेको ‘नन्दादेवी सुवेदी’ स्मृतिग्रन्थको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले विमोचन गर्नुभएको थियो ।



कार्यक्रममा उहाँले महाकवी देवकोटाले नेपाली साहित्यको विकासमा गर्नुभएको योगदानको चर्चा गर्नुहुदै नेपाली समाजमा पठन र अध्ययन संस्कृति घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
परिस्थितिका उपजहरुमा समसामयिक घटनाक्रम र स्थानीय बस्तु अवस्थाप्रति व्यङ्ग्य गरिएका एक सय तीन वटा कविताहरु रहेका छन् । पौडेलको यो पहिलो कृति हो ।
कार्यक्रममा स्रष्टा हरिप्रसाद पौडेल (हरि लाटो), सुमन पौडेल, शालिकराम सापकोटा, देवीप्रसाद पौडेल (शिव सस्मित) लगायतले रचना बाचन गर्नुभएको थियो । साहित्यकार रामप्रसाद सुवेदीले कृतिको समिक्षा गर्नुभएको थियो ।
म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नवराज पौडेलले गर्नुभएको थियो ।
