घरपझोङ चक्रपथको जोमसोम–ठिनी–ढुम्बा खण्डमा कालोपत्र शुरु

khali

जोमसोम ः मुस्ताङको सदरमुकाम जोमसोम बजार सहित घरपझोङ गाउँपालिकाका पाँच वटै वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ ।

गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम मार्फत पूर्वाधार विकास कार्यालय मुस्ताङले घरपझोङ चक्रपथको जोमसोम देखि ठिनी हुदै ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो ।

कार्यालयका प्रमुख अजय श्रेष्ठका अनुसार निर्माण ब्यवसायीले बिहिबारदेखि जोमसोम तर्फबाट प्रिमिक्स प्रबिधिको कालोपत्र गर्न थालेका हुन् । पहिलो दिन एकतर्फी तीन सय मिटर कालोपत्र भएको छ । जोमसोम–ठिनी–ढुम्बा–छैरो खण्डको १२ किलोमिटर मध्य पहिलो चरणमा पाँच किलोमिटर कालोपत्र गर्न लागिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news

छ किलोमिटर कालोपत्र र छ किलोमिटर ग्राभेल गर्न वि.स. २०७६ असार २६ गते एम.एस बन्दना– भगवती – जलजला जेभी कन्ट्रक्सनले रु. २१ करोड ४३ लाख १३ हजारमा ठेक्का सम्झौता गरेको आयोजनाको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

घरपझोङ चक्रपथ सडकले जोमसोम, ठिनी, ढुम्बा, चिमाङ, छैरो, मार्फा र स्याङ गाउँ जोडिन्छन् । चक्रपथको मार्फा–स्याङ–जोमसोम खण्ड संघीय सरकारको कालिगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजना मार्फत स्तरोन्नतिको चरणमा छ । जोमसोम–ठिनी–ढुम्बा–चिमाङ–छैरो खण्डको स्तरोन्नति प्रदेश सरकारले गर्न लागेको हो ।

मुस्ताङको नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको ठिनी गाउँ र ढुम्बा ताल जान आउन यही सडक प्रयोग हुन्छ । सडक कालोपत्र र ग्राभेल भएपछि स्थानीयबासी, पर्यटकलाई आवत जावतका साथै कृषि उपजको बजारीकरणमा सहज हुनेछ ।

khali

वि.स. २०७८ असार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाका निर्माण ब्यवसायीको बैंक जमानत जफत गरेर कालोसूचिमा राख्ने प्रक्रीया अघि बढाएपछि गत वैशाख महिनामा करिब एक वर्षपछि काममा फर्किएका थिए । कार्यालयको ताकेताका साथै जनप्रतिनिधी र सरोकारवालाहरुको दवावपछि ठेकेदार काममा फर्किएका हुन् ।

प्रतिकुल मौसम, कोरोना कहर, हिमपात र मूल्यवृद्धि लगायत कारण देखाएर चक्रपथ निर्माणको काममा ढिलासुुस्ति गरेका निर्माण व्यवसायीले आयोजनाको कामलाई पूर्णता दिने प्रतिवद्धता जनाएका छन् । अघिल्लो कार्यकालमा मुस्ताङबाट निर्वाचित तत्कालीन प्रदेशसभा सदस्य महेन्द्र थकालिको सिफारिसमा यो आयोजना छनौट भएको थियो ।

घरपझोङ चक्रपथ अन्तर्गत तीन ठाउँमा मोटरेबल पुल आवश्यक छ । ठिनीखोलामा प्रदेश सरकार मार्फत मोटरेबल पुल निर्माण सुरु भएको र छैरो–मार्फा जोड्ने बेलिब्रिज निर्माणका लागि संघीय सरकारसँगको साझेदारीमा घरपझोङ गाउँपालिकाले ठेक्का आव्हान गरिसकेको मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले बताउनुभयो ।

ठिनीखोलामा मोटरेबल पुल निर्माणका लागि बजेट बिनियोजन र बहुबर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता गराउन शेरचनले पहल गर्नुभएको थियो । यस सडक अन्तर्गत ढुम्बाखोलामा मोटेरबल पुल बनाउन पूर्वाधार विकास कार्यालय मार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोत सुनिश्चितताका लागि पहल भइरहेको सांसद शेरचनले बताउनुभयो ।

ठिनीखोलामा ३५ मिटर लामो प्रिस्टे«स प्रविधिको मोटरेबल पुल निर्माणका लागि छनौट भएको निर्माण कम्पनीले काम थालेको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोकाले अमित–असिम जेभीले रु. चार करोड ४६ लाख ७० हजार तीन सय ५९ मा वि.स. २०८१ साउन २९ गते ठेक्का सम्झौता गरेको ठिनीखोला पुल वि.स. २०८३ साउन २८ गते सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...