असिनाले धान सखाप पारेपछि किसान चिन्तित

Gandaki Ghumau

धु्रबसागर शर्मा
बेनी, । आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ ।

कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको तथा कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिनापानीले क्षति गरेको किसानले बताएका छन् । असिनापानीले धान बालीमा क्षति पु¥याएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छन् ।

असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटमा पु¥याएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “अहिले हामी क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छौँ, अधिकांश ठाउँमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ, किसानहरु अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन्, केही दिनभित्र क्षतिको पूरै विवरण सङ्कलन हुन्छ”, वडाअध्यक्ष कार्कीले भन्नुभयो ।

Shreekrishna

असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानबालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका बेनी नगरपालिका–२ का वडा सदस्यसमेत रहनुभएका चन्द्रकान्त रिजालले बताउनुभयो । उहाँका अनुसार असिनाले खेतमा रहेको धानको ८० प्रतिशत दाना झारेर नष्ट गरेको छ ।

Gunasthariya Shiksya

रिजालका अनुसार असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी, नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान सन्तबहादुर नेपालीले बताउनुभयो । भित्राउन समयमा पानीले क्षति पु¥याइदिए पछि किसान चिन्तित अवस्थामा पुगेको बेनी–२ सानालेखका नारायण शर्माले बताउनुभयो ।

“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?” जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् ।

विगतमा पनि यही समयमा असिना र वर्षाका कारण क्षति बेहोर्दै आएका कृषक यस वर्ष पनि यही बेलामा क्षति भोग्न बाध्य भएका हुन् । विगतका वर्षको तुलनामा यस वर्ष अधिकांश ठाउँमा धानखेती निकै सप्रिएको र उत्पादन बढ्ने अनुमान गरिएकामा उच्च क्षेत्रमा भने असिनासहितको वर्षाले असर गरेको हो । “असिना र वर्षाले धान नै झारेको छ, चर्को हावाले ठाडो धान नै खेतैमा सुताएको छ”, बेनी–२ का कृषक मोहन कार्कीले भन्नुभयो, “पाक्ने बेलाको धानमा असिना परेपछि खेतमै झरेको छ ।”

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिको विवरण सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो । कृषकहरूले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको भन्दै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेका भने देखिरहेको जानकारी दिनुभयो । कतिपय जातका धान अब भित्र्याउनका लागि पाकेर तयार हुनै लागेकाले असिना र वर्षाले धान बोटबाटै झरेर खेतभर हुँदा उत्पादनमा ह्रास आउनसक्ने प्रमुख बाँस्तोलाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...