फलाते, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चिया खेतीको परिक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुन्द्रि सतहदेखि दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो ।
“कृषि अनुसन्धान परिषद् (नार्क) बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाईअल्टिच्युडमा परिक्षणको लागि धनकुटाको पाख्रिबाटबाट चियाका बिरुवा ल्याएर रोपेको थिए,” गौचनले भन्नुभयो “परिक्षणका लागि गरेको चिया खेती सफल भएको छ ।”
परिक्षण खेती सफल भएपछि फलाते आसपासका बाँझो पाखा जमिनमा चिया खेती गरेर कृषकहरुले आम्दानी गर्न सक्ने गौचनले बताउनुभयो । आफन्त र बजारमा कोशेलीका रुपमा पठाउनुका साथै म्याग्दीको पर्यटकीय घोडेपानी, शिख, घारका होटलमा फलातेको चिया प्रयोग हुन थालेको छ ।
विषादी र रासायनिक मलको प्रयोग नगरि उत्पादन गरिएको चियालाई ‘बल्याक टि’ नाम दिइएको छ । स्वाद र गुणस्तर राम्रो भएकाले फलातेको चियाले स्थानीय उपभोक्ताको मन जित्न थालेको छ । वार्षिक ५० किलोग्राम सम्म चिया उत्पादन हुने गरेको गौचनले बताउनुभयो ।
काठमाडौमा व्यवसाय गर्दै आएका गौचनले पुरख्यौली जन्मथलोमा खेर गएको बारीमा चिया खेतीसँगै दाते ओखर पनि लगाउनु भएको छ । चिया बगानको रेखदेख भने ८२ वर्षीया आमा रनदेवी गौचनले गर्नुहुन्छ । रनदेवीसँगै अन्य दुई जना स्थानीय कामदारले रेखदेख, चिया टिप्ने, सुकाउने र प्रसोधन गर्दै आएका छन् ।
छ रोपनी क्षेत्रफलमा चिया खेती गर्न रु. २० लाख लगानी भएको रनदेवीले बताउनुभयो । “अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी–भुरुङ्ग तातोपानी पदमार्गमा यात्रा गर्ने पर्यटकहरु पनि चिया बगान हेर्नका लागि आउँछन्,” उहाँले भन्नुभयो “पाहुना र पर्यटकलाई आफ्नै बगानको चिया पकाएर खुवाउने गरेकी छु ।”
फलातेअघि अन्नपूर्ण गाउँपालिका–६ खिवाङको पाखामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मार्फत चियाखेती भएपनि रेखदेख र संरक्षण नहुँदा बगान मासिएको थियो । मालिका गाउँपालिका–३ किनेती स्थित वडा कार्यालय पसिरको सार्वजनिक पाखोमा पनि परिक्षणका लागि गत वर्ष चिया खेती भएको छ ।
म्याग्दीका अन्य ठाउँमा व्यवसायिक रुपमा चिया खेती भएको छैन् । फलातेको चिया बगानको अवलोकन गर्न पुग्नुभएका अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले स्वाद, गुणस्तरका हिसाबले व्यवसायिक चिया खेतीको सम्भावना देखिएको बताउनुभयो ।
चिया खेतीको माध्यमबाट बाँझिएका खेतीयोग्य जमिनलाई सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रर्वद्धन गर्न सकिने उहाँले बताउनुभयो ।