आफ्नै गाउँ फर्कि आए….

khali

बेनी, ः खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । बर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।
सहर बजार र विदेशिएकाहरु दशै पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघर गुुन्जायस भएका छन् । शरदयामको मौसमसँगै चाडपर्वले मानिसहरुको मनमा उमंग छाएको छ ।

पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा देश, विदेशमा पुुगेकाहरु जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका तिर्थ फगामीले बताउनुभयो ।

“अघिपछि गाउँघरमा युुवाहरु नभएपनि विदेशीएका र सहर पसेका आफन्तहरु गाउँ फर्केपछि रमाइलो हुुन्छ,” उहाँले भन्नुुभयो “चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र ईष्टमित्रहरुको मिलन गराएको छ ।”

Shreekrishna hardwear in news

जनगणनाको पछिल्लो नतिजा अनुसार छ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ । वि.स. २०६८ पछिको दश वर्षमा म्याग्दीको जनसंख्या करिब सात हजार जनाले घटेको हो ।

गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट सुविधा पुगेपनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिसहरु सहर तथा विदेशीने क्रम बढेको छ । अन्य समय विद्यालय उमेरका बालबालिका र जेष्ठ नागरिकहरु बढी भेटिने ग्रामिण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसहरुको चहलपहल हुन्छ ।

khali

धवलागिरी गाउँपालिका–४ खिवाङका होमबहादुर पुन आठ वर्षपछि दशै मनाउन अमेरिकाबाट जन्मथलो आउनु भएको छ । “चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झीएर न्यास्रो लाग्थ्यो,” उहाँले भन्नुभयो “उकाली ओराली गरेका भूगोल, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीहरुसँगको आत्मियता विदेशमा कहाँ पाइन्छ र ?”

“सहरबजारको चाडपर्व घर र परिवारमा सिमित हुुन्छ,” उहाँले भन्नुुभयो “गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुुकेको हुुन्छ । आफन्त साथीमाई र इन्टमित्रहरुको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउँछ ।”

दशैको नवदुुर्गामा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दशैको विषेश महत्व हुुने दशै मनाउनका लागि बेलायतबाट दश वर्षपछि जन्मथलो आउनुभएका अन्नपूर्ण–७ घराम्दीका धनबहादुर पाइजाले बताउनुभयो ।

“बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्ग पिङ हालेका छौ,” उहाँले भन्नुभयो “तीन दिन लगाएर जंगलबाट ल्याएको काठको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच… हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै हुन्छ ।”

गाउँको बाटाघाटा र सार्वजनिक स्थल श्रमदान गरेर सरसफाई गरेका छन् । प्रायजसो गाउँका कोतघरहरुमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसे चौबीसे राज्यका पालाका ज्यामरुक, भगवति, ताकम, बेनी, घतान लगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ ।

रत्नसमशेर थापा र सोनी निगमको स्वर रहेको चलचित्र सिमानाको गितका शब्दहरुले भने जस्तै बाध्यताले थातथलो छाडेकाहरुका लागि आफ्नो जन्मथलो र भूगोल सँधै प्यारो लाग्ने गर्छ ।
दशै, तिहार, छठ लगायत चाडपर्व मनाउन जन्मथलो फिर्नेहरुका लागि सिमाना चलचित्रको
‘उकाली ओराली गर्दै,
आँखा भरी रहर भर्दै,
आधिबेहरीसँग लड्दै,
खोला नदी सागर तर्दै,
दुःख पिडा बिर्सदै म आए,
परदेशबाट फर्कि आए
आफ्नै गाउँ फर्कि आए
नयाँ नयाँ सपना ल्याए……’ भन्ने शब्दहरुले मन छुन्छ भने बाध्यताले टाढिनेहरुलाई खिन्न बनाउँछ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...