लोमान्थाङ, ः मुस्ताङको लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको कार्यालय भवनमा केन्द्र स्थापना भएको हो ।
लोमान्थाङ भित्र्ने पर्यटकहरुलाई ऐतिहाँसिक, धार्मिक, पर्यटकीय स्थलह, संस्कृति, जैविक विबिधता, वन्यजन्तु, पंक्षी, भौगोलिक विबिधतालगायतको विषयमा जानकारी गराउने उद्देश्यले केन्द्र सञ्चालन गरेको एक्याप लोमान्थाङका रेञ्जर मदन पौडेलले बताउनुभयो ।
“ऐतिहाँसिक बस्ति लोमान्थाङमा आउने पर्यटकहरुलाई यहाँको विबिध पक्षका बारेमा जानकारी लिन सहज होस भन्ने उद्देश्यले सूचना केन्द्र सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “केन्द्रबाट पर्यटकहरुलाई गन्तब्य, आवास सुविधाको विषयमा पनि परामर्श र सूचना उपलब्ध गराउछौ ।”
एक्यापका कर्मचारी रहने केन्द्रमा लोमान्थाङ र आसपासका ठाउँको भौगोलिक नक्सा, ऐतिहाँसिक, धार्मिक, पर्यटकीय स्थल, गुफा, गुम्बा, कला, संस्कृति झल्कने तस्विर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधा लगायत विषयमा जानकारीमुलक बोर्ड राखिएको छ । कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजिकरण, समन्वय गर्नेछन् ।
माटोको पर्खालभित्र रहेको ऐतिहाँसिक बस्ती, दरवार र गुम्बा, सांस्कृतिक राजा, मुखीया परम्परा, तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो संस्कार र जिवनशैली लोमान्थाङको आकर्षण हो । माटोको पर्खालभित्र करिब दुई सय घरधुरी रहेको यहाँको बस्ती करिब छ सय वर्ष पुरानो भएको वडा अध्यक्ष ढुढुके बिष्टले बताउनुभयो ।
मुस्ताङी राजा आमे पालले ई.स. १४४० मा निर्माण गरेको पाँच तले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन् । १५ औ शताब्दीमा निर्माण भएको थुप्तेन, छयोदेन र झयाम्पाल गुम्बा पनि लोमान्थाङको ऐतिहाँसिक र धार्मिक सम्पदा हुन् । काठ, ढुङ्गा, माटोले बनेका गुम्बाभित्र कलात्मक थाङका र मुर्तीहरु छन् ।
वि.स. २०८१ को वैशाख देखि भदौ सम्म दुई हजार ११ जना विदेशी पर्यटकले लोमान्थाङ समेटिएको उपल्लो मुस्ताङको भ्रमण गरेका (एक्याप) लोमान्थाङको तथ्याङ्क छ । सन २०२३ मा ७० देशका तीन हजार चार सय ८४ जना विदेशी नागरिक उपल्लो मुस्ताङ घुमेका थिए ।
सन् २०२२ मा तीन हजार एक सय १२, २०२१ मा तीन सय ३२, २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ जना विदेशी उपल्लो मुस्ताङ पुगेका थिए । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ जना विदेशी नागरिकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए ।
सरकारले सन १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमति र शूल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर– ३ को साविक छुसाङ गाविस र वडा नम्बर –५ को साङ्तालाई सरकारले निषेधित क्षेत्र तोकेको छ ।
उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ ।