बेनी, ः मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ र ‘साउना’ सञ्चालन गरेको छ । जोमसोम बजार नजिकै घरपझोङ गाउँपालिका–३ स्याङखोलामा करिब रु. २८ लाखको लगानीमा प्राकृतिक उपचारका लागि स्टिम र साउना सञ्चालन गरेको हो ।
पानीको बाफयुक्त बन्द कोठाभित्र बसेर शरिरका खराब वस्तु (विकारण तत्व) फाल्न र शरीरलाई आनन्दका लागि गरिने स्टिम बाथ, साउना र जाकुजीलाई आयुर्वेदिक उपचार पद्धति मानिन्छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले चिसो मौसम र हावापानीका कारण बिरामी हुने नागरिकहरुको प्राकृतिक उपचारका लागि ‘स्टिम’ र ‘साउना’ शुरु गरेको जानकारी दिनुभयो ।
“चिसोका कारण धेरै नागरिकहरु बिरामी पर्ने भएका कारण शरिरलाई न्यानो, सरसफाईयुक्त राख्न र रोगबाट बचाउन स्टिम सहित छिट्टै साउना र जाकुजी पनि सञ्चालनको तयारी गरेका छौ,” उहाँले भन्नुभयो “गाउँपालिकाको सबै वडालाई केन्द्र पर्ने स्याङखोलामा सञ्चालन गरिएको साउनाबाट मुस्ताङमा आउने पर्यटक र तिर्थयात्रीहरुले पनि सेवा लिन सक्नेछन् ।”
स्टिम बाथ, साउना र जाकुजी सेवा सञ्चालनका लागि गत आर्थिक वर्षमा रु. १३ लाख बिनियोजन गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. १५ लाख बिनियोजन गरेको छ । निर्माणको अन्तिम चरणमा पुगेको भवनको एउटा कोठामा स्टिम बाथको उपकरण खरिद गरेर परिक्षणका लागि सेवा शुरु गरिएको हो ।
वडा अध्यक्ष फलेन्द्रप्रसाद थकाली र सदस्य बिरप्रसाद थकालीको रेखदेखमा परिक्षणका लागि सञ्चालन भएको साउनामा ६० वर्ष उमेर पुगेका २८ जना महिला र २२ जना पुरुषले सेवा लिइरहेका छन् । भवन निर्माण सकिएपछि जाकुजी र साउनालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गरिने वडा सदस्य थकालीले बताउनुभयो ।
महिलाहरुका लागि दिउँसो २ देखि ४ बजेसम्म र पुरुषहरुका लागि दिउँसो ४ः३० देखि ७ बजेसम्म साउनामा उपचार गर्ने समय तालिका बनाइएको छ । एक पटकको रु. एक सय सेवा शूल्क तोकिएको छ ।
के हो स्टिम, साउना र जाकुजी ?
‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो भने ‘साउना’ भनेको सुक्खा तातो बाफ हो । यी दुवै विधिअन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्छ ।
स्टिम र साउनाले शरीरमा रगत सञ्चालनमा फाइदा गर्छ । तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरु खोलेर फुर्तिलो बनाउँछ । शरीरमा टाँसिएको धुलोधुवाँका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ ।
जाकुजी तातो पानीमा १० देखि १५ मिनेट बस्ने विधि हो । यसमा तातोपानीको फोहराले शरीर रक्तसञ्चार गराउनाका साथै आनन्द बनाउँछ । शरीरमा भएका विकारलाई हटाउन, तनावबाट मुक्ति दिलाउँछ, छालामा जमेको फोहोर निकालेर सफा बनाउन स्टिम र साउनाले मद्दत गर्दछ ।
स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ, स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ, शरीरले आनन्द महसुस गराउने गर्दछ । जोर्नीहरु कडा भएर हिँड्डुल गर्न गाह्रो हुनेलाई स्टिम र साउनाले जोर्नीहरु खुकुलो बनाउने गर्दछ ।
नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना राम्रो विकल्प हो । चिसो ठाउँ र जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् । यसै पनि जाडो मौसममा तातो भएर बस्दा आनन्द आउँछ, त्यसमाथि शरीरलाई पनि फाइदा पुग्छ ।