जलजलाको मिलनचोक–लेखफाट–शालिजा सडक स्तरोन्नति हुदै

Gandaki Kotihome

बेनी । पर्वतको जलजला गाउँपालिकाको तीन वटा वडालाई जोड्ने रणनीतिक महत्वको मिलनचोक–लेखफाट–शालिजा सडक स्तरोन्नतिको काम शुरु भएको छ ।

मार्ग खुलेको करिब २० वर्षपछि स्तरोन्नति हुन लागेको १८ किलोमिटर दुरिको यो सडकले जलजलाको कृषि क्षेत्रदेखि म्याग्दीको नागीसम्मको पर्यटन विकासमा सहयोग पुग्ने देखिएको छ ।

करिब २०६४÷०६५ सालतिर ‘ट्र्याक’ निर्माण भएको यो सडकमा झन्डै २० वर्षपछि कालोपत्रे गर्न सुरुवात गरिएको छ । गण्डकी प्रदेशको भौतिक मन्त्रालयमार्फत गत आर्थिक वर्ष २०८०÷०८१ मा बहुवर्षिय सडकको स्रोत सुनिश्चितको निर्णय भयबमोजिम सुरुवाती तीन करोड रुपैयाँबाट टेन्डर प्रक्रियाका सबै काम सकेर कालोपत्रे गर्न तयारी भइरहेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । सडक कालोपत्रे गर्न युग बिल्डर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेडले ठेक्का पाएको छ ।

Upper Myagdi transmition line notice

कालोपत्रेको काम सुरु गर्नका लागि ठेकेदार र जनप्रतिनिधि सहितको टोलीले सडक कालोपत्रे पुग्न सक्ने ठाउँसम्मको अवस्थाको अवलोकनको काम सकिएको छ । सडकको लम्बाई १८ किलोमिटर लामो भए पनि यस वर्षका लागि प्राप्त भएको तीन करोडबाट करिब डेढ किलोमिटर टाढा खोलाखेतसम्म कालोपत्रे हुन सक्ने अनुमान छ ।

‘निकै ठुलो क्षेत्र र लामो दूरी ओगटेको सडक हो । म्याग्दीको नागी र काफलडाँडा सम्मलाई जोड्ने सडक पनि हो । यो रणनीतिक महत्वको सडक हो’, उपाध्यक्ष आचार्यले भन्नुभयो, ‘तरकारी पकेट क्षेत्र काउली, बन्दा, आलु, लगायताका नगदे बालीको बजारीकरणका लागि समस्या भएकोमा अब केही सहज हुन्छ ।’

Annapurna aarohan ko notice

जलजलाकै अर्को किराखोर–घाहाखेत–धारापानी सडक खण्ड पनि सोही निर्माण कम्पनी युग बिल्डर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेडले कालोपत्रे गर्नका लागि ठेक्का पाएको छ । यो सडकका लागि पनि तीन करोड रुपैयाँ विनियोजन भएको छ । म्याग्दी १(२) बाट नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको नेतृत्व सम्हालेको समयमा जलजलाका रणनीतिक २ वटा सडक आयोजनालाई बहुबर्षीय ठेक्का मार्फत कार्यान्वयन गर्ने निर्णय गर्नुभएको थियो ।

करिब छ किलोमिटर लम्बाइको यो सडकको ‘ट्र्याक’ करिब २०६८÷०६९ सालतिर खोलिएको उपाध्यक्ष आचार्यले बताउनुभयो । स्थानीय कृष्णभवन धर्म माध्यमिक विद्यालयसम्म पुग्ने यो सडकबाट पनि तरकारी निर्यातदेखिका अन्य कामका लागि सहज हुने उहाँको भनाई छ ।

यसअघि नै कालोपत्रे भइसकेको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी कालोपत्रे सडकमा जोडिएको यो सडकले घाहाखेत, लालुखानी, बराए, कृष्णभवन मा.वि.सम्मको क्षेत्रलाई प्रभावित गरेको छ । यो सडक खण्डका ठाउँ–ठाउँमा पहिरो झर्ने क्रम नरोकिएकोले अब वर्षा रोकिएपछि पहिरो पन्छाएर काम थाल्ने तयारी छ ।

निर्माण कम्पनी युग बिल्डर्स एन्ड सप्लायर्स प्राइभेट लिमिटेडका सञ्चालक प्रदीप बानियाले मिलनचोक–लेखफाट– शालिजा सडकको काम गर्नका लागि कामदारहरू उक्त ठाउँमा पुगिसकेको बताउँदै निर्धारित समयमा नै काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गत साउन २८ गते दुवै सडकहरूको काम १२ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको र त्यसमा काम सक्ने गरी काम सुरु भएको छ ।

किराखोर–घाहाखेत–धारापानी सडकको काम भने दसैँ वा तिहार आसपासबाट सुरु गर्ने तयारी छ । यो सडकमा साना ठुला पहिराहरू भएकोले पनि तत्कालै काम सुरु गर्दा पुनः बिग्रिने त्रास रहेकोले तिहार आसपासबाट काम सुरु गरिने बानियाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...