बेनी । म्याग्दीको बेनी नगरपालिकाले यही भदौ ८ गते रातीको बाढीबाट प्रभावित भएकाहरुलाई बिहिबार क्षतिपुर्ति वितरण गरेको छ ।
बाढी पसेर घर पूर्ण क्षति भएका दुई जनालाई रु. २५÷२५ हजार र कुखुरा फार्म क्षति भएका एक जनालाई रु. १० हजार क्षतिपुर्ति उपलब्ध गराइएको हो । बेनी नगरपालिका–१ आनन्द बगरकी सेती थापा र वडा नं. ५ बगुवाखोलाकी आदेवी घिमिरेलाई रु. २५÷२५ हजार उपलब्ध गराइएको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत युवराज थापाले बताउनुभयो ।
बाढी पसेर फार्मका कुखुरा मरेका बेनी नगरपालिका–६ चुत्रेनीका प्रकाश बानियालाई रु. दश हजार उपलब्ध गराइएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने पौडेल, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, वडा अध्यक्ष टेकबहादुर थापा, कृष्णसिंह बानिया, बरिष्ठ प्रशासकीय अधिकृत थापा, ईञ्जिनियर सुदिप गौतम र प्राविधिक बिष्णु पौडेलको टोलीले क्षतिपुर्ति वितरण गर्नुभएको थियो ।
पूर्ण क्षति भएका घरधनीहरुलाई तत्कालिन रुपमा ब्यवस्थापनका लागि क्षतिपुर्ति उपलब्ध गराएको र घर पुननिर्माणका लागि सरकारको नीयम अनुसार रु. पाँच लाख सहयोग गरिने नगर प्रमुख केसीले बताउनुभयो । भदौ ८ गतेको बाढी पहिरोका कारण अन्य घरहरुमा पनि आंशिक तथा धेरै ठाउँमा खेतीयोग्य जमिनमा क्षति भएको नगर प्रमुख केसीले बताउनुभयो ।