बेनी, धौलागिरि हिमशृङखलाको मानापाथी हिमालबाट मंगलबार साँझ चार दिनपछि पुनः हिउँपहिरो खसेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कमा यही भदौ ७ गते अपराहन्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडा अध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताउनुभयो ।
“यसअघिको पहिरो मुलखर्क क्षेत्रमा थुप्रिएको थियो, मंगलबारको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तल सम्म आएको छ,” उहाँले भन्नुभयो “हिउँपहिरोले बोक्सीखोला पूर्णरुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।”
बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि वि.स. २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरेका थिए ।