बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा ८०.०१ प्रतिशत बजेट खर्च गरेको छ ।
रु. ४७ करोड २८ लाख ७४ हजार ४३१ बजेट बिनियोजन भएकोमा रु. ३७ करोड ८३ लाख ५९ हजार ५५३ खर्च भएको हो । पुजिगत शिर्षकमा रु. १८ करोड ६७ लाख ९४ हजार ७८९ बिनियोजन भएकोमा ६९.८९ प्रतिशत अथवा रु. १२ करोड ६७ लाख ९४ हजार ७६९ खर्च भएको मंगलाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले जानकारी दिनुभयो ।
चालु तर्फ रु. २९ करोड १४ लाख ६६ हजार बिनियोजन भएकोमा रु. २५ करोड १५ लाख ६४ हजार ७६४ अथवा ८६.३१ प्रतिशत खर्च भएको छ । चालु बजेट संघीय सशर्त कार्यक्रम, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरुको तलबभत्ता, कार्यलय सञ्चालन, जनप्रतिनिधीहरुको तलबभत्ता लगायतका शिर्षकमा खर्च हुन्छ ।
पुजिगत बजेट विकास आयोजना र कार्यक्रममा खर्च हुन्छ । गत आर्थिक वर्षमा सडक यातायात पूर्वाधार निर्माणमा रु. ७ करोड ८७ लाख ७ हजार ९३१ खर्च भएकोमा ७५ प्रतिशत अथवा रु. ५ करोड ८२ लाख ९२ हजार १८० खर्च भएको छ ।
गत आर्थिक वर्षमा १०५ वटा पूर्वाधार योजनाहरु सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । उहाँका अनुसार ८२ वटा योजना उपभोक्ता समिति, ८ वटा विद्युतीय बोलपत्र र १५ वटा दरभाउपत्र मार्फत कार्यान्वयन भएका हुन् । सडक निर्माण, स्तरोन्नति, पदमार्ग, भवन, सिचाई, खानेपानी लगायतका योजनाहरु निर्माण भएका छन् ।
गौरवका आयोजना कार्यान्वयनको अवस्था
म्याग्दीको मंगला गाउँपालिका–२ सिम देखि कोक्रवाङ खुम्ल्याह पैयुपाटा कुहुँ हुदै पर्यटकीय स्थल टोड्के जोड्ने मोटरबाटो निर्माण तथा स्तरोन्नति आयोजनाको ९२ प्रतिशत भौतिक प्रगति भएको छ ।
२०८० पुष २५ गते कालिका–दुर्गा लक्ष्मी–जयदुप्चे जे.भी.ले भ्याट र पिएस सहित रु. १ करोड ७३ लाख ७८ हजार ५७१.०५ मा ठेक्का सम्झौता गरेको थियो । यस आयोजना मार्फत यस वर्ष कोक्रवाङ देखि खुम्ल्याहतर्फ सडकको ग्रेड, मोड सुधार, नाली र टेवा पर्खाल निर्माण गरि १०६ मिटर प्रिमिक्स प्रबिधिको कालोपत्र र ३१९ मिटर सडक ढलान भएको छ । गत वर्ष ठेक्का सम्भौता भएको सिम देखि कोत्रवाङ तर्फ ६०० मिटर प्रिमिक्स कालोपत्र गर्ने योजना पनि चालु आर्थिक वर्षमै सकिएको थियो ।
म्याग्दीको मंगला गाउँपालिकाले वडा नम्बर ५ अर्मनको पुलचोक–पिपलबोट–पाखु सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालन गरेको योजना निर्माण सम्पन्न भएको छ ।
रु. १ करोड ३ लाखमा म्याग्दी रारा कन्ट्रक्सनले ठेक्का लिएको यस आयोजना मार्फत शेराफाट क्षेत्रमा सडकलाई ९ मिटर फराकिलो बनाउने, ग्रेड र मोड सुधार गर्ने, पर्खाल, नाली निर्माण गरि ग्राभेल गरिएको छ । नाली र टेवा पर्खाल सहितको ३०० मिटर सडकलाई ७ मिटरका दरले ग्राभेल गर्ने काम निर्धारित समयभित्रनै सम्पन्न भएको हो ।
म्याग्दी नदीको किनारमा रहेको मंगला गाउँपालिका–५ स्थित हाँडेभिर बस्ती, अर्मन स्वास्थ्य चौकी, निर्माणाधिन ५ शैया क्षमताको अस्पताल भवन लगायत भौतिक संरचना र पुलचोक–पिपलबोट–पाखु–अर्मन सडक संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण भएको छ ।
२०८० फागुन ९ गते रु. ९६ लाखमा ठेक्का सम्झौता गरेको म्याग्दी रारा कन्ट्रक्सनले म्याग्दी नदी किनारमा ८४.५ मिटर लामो ३८७.६ घनमिटर पलम (पक्कि) पर्खाल निर्माण भएको छ । ३ मिटर अग्लो पलम पर्खाल माथि थप ३ मिटर ग्यावीयन पर्खाल बनाइएको छ ।
पक्कि पर्खाल, निर्माणाधिन अस्पताल माथिको पाखोमा थप १७५ घनमिटर ग्यावीयन पर्खाल लगाएर १३ ठाउँमा बाढी छेक्ने बाँध बनाइएको छ । अस्पताल मुनी म्याग्दी नदी किनारमा ७० मिटर दुरीमा ६५२ घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ ।
मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोड्ने बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडक स्तरोन्नति आयोजना अन्र्तगत काफलचौर–सल्यान खण्डमा स्तरउन्नति भएको छ ।
२०८० पुस ५ गते रु ७१ लाख ४० हजार पाँच सय ७६ मा ठेक्का सम्झौता गरेको जयदुप्चे निर्माण सेवाले काफलचौर–सल्यान खण्डको अप्ठ्यारो सडक विस्तार, ग्रेड र घुम्ती सुधार गरी नाली, पर्खाल निर्माण गरि फराकिलो बनाएको छ ।
६ मिटर चौडाइका दरले २५० मिटर लम्बाइमा सडक ढलान भएको छ । सडकको प्रवेशविन्दुमा पर्ने काफलचौर क्षेत्रमा गत वर्ष रु ५० लाख बजेटमा उपभोक्ता समितिमार्फत एक सय ७८ मिटर ढलान भएको थियो ।
म्याग्दीको मंगला गाउँपालिका–२ लाम्पाटामा मंगला शिक्षा क्याम्पसको छात्रावास भवनको संरचना निर्माण गर्ने योजना सम्पन्न भएको छ । २०८० फागुन ९ गते रु. ८१ लाख १५ हजार ५०२ मा ठेक्का सम्झौता गरेको म्याग्दी रारा कन्ट्रक्सनले निर्धारित समय अगावै २ तले ८ कोठे भवन निर्माणको सम्झौता अनुसार काम सकेको हो ।
आर्थिक वर्ष २०७८÷७९ देखि रणवाङमा निर्माण शुरु भएको बाबियाचौर स्वास्थ्य चौकीको २ तले ९ कोठे भवन निर्माण गर्ने योजना यसै आर्थिक वर्षमा सम्पन्न भएको छ । भवन निर्माणका लागि विसं २०७८ माघ २० गते ग्रान्ड–खाम्पाचे एसके जेभी काठमाडौँसँग एक करोड ४९ लाख २८ हजार तीन सय ७२ मा ठेक्का सम्झौता भएको थियो ।
म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा १० शैया क्षमताको पालिकास्तरीय अस्पतालको भवनको करिब १० प्रतिशतको हाराहारीमा भौतिक प्रगति भएको छ । वि.स. २०७८ असारमा रु. ९ करोड ११ लाखमा ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौंले ठेक्का यो भवन २०८० असार महिनामा सम्पन्न गर्ने लक्ष्य थियो । १० शैया क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा निर्माणाधिन भवनले गति लिन सकेको छैन् ।